म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा गाडीमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्ताङस्थित कोरला नाकाबाट विद्युतीय गाडी चलाएर पोखरातर्फ आउँदै गरेका वीरगन्ज महानगरपालिकाका २३ वर्षीय सोहिल मियाको घटनास्थलमै ज्यान गएको हो।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार अचेत अवस्थामा उद्धार गरिएका मियालाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सडक फराकिलो बनाउने क्रममा विस्फोटक पदार्थ प्रयोग भइरहेको क्षेत्रमा गाडी गुडिरहेका बेला माथिबाट खसेको ठूलो ढुंगाले गाडी च्यापेको थियो। गाडीमा एक्लै रहेका मिया ढुंगाले थिचिएर गम्भीर घाइते भएका थिए।

घटनापछि प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायब उपरीक्षक राजन कार्की र सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक बिमल सिलवालसहित करिब ४० जनाको उद्धार टोली बेनीबाट १८ किलोमिटर उत्तरमा रहेको महभिर पुगेको थियो। टोलीले ढुंगामुनि पुरिएको गाडीबाट मियाको उद्धार गरेको प्रहरीले जनाएको छ।

घटनापछि पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो भने बिहान ८ बजे बाट सडकखण्ड सन्चालनमा आएको छ ।