म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानास्थित दुहारी गाउँको एउटा बिहान अरू ठाउँको जस्तो सामान्य लाग्न सक्छ। तर, यही गाउँमा बसेका रवि पाध्याको जीवन र श्रमले प्रेरणाको कथा बोकेको छ। दुहारी गाउँमा बिहानैदेखि एक युवक गोठभित्र चहलपहल गरिरहेका हुन्छन्। भैंसीहरूको स्याहार, दूध दुहने काम, अनि त्यसपछि बजारतर्फ हिँड्ने तयारी । यो दिनचर्या अहिले रवि पाध्याको पहिचान बनेको छ। कहिल्यै सपना नदेखिएको दुहारी गाउँमा आज सपना सजिएका छन्—रवि पाध्याको पसिनाले सिँचिएका सपना।

रवि पाध्या एक सामान्य युवा, जसले पनि आफ्नो जिवनको केही वर्ष मध्यपूर्वको मरुभूमिमा बिताए। कतारमा दुःख–कष्ट गर्दै पानी बोक्ने जस्तो श्रमसाध्य काम गरेका पाध्या दुई वर्षको परदेशी जीवनपछि फर्किए। फर्किंदा उहाँसँग विदेशको अनुभव त थियो तर भविष्यका लागि ठोस योजना थिएन। तर यही अन्योलको छायाबाट उहाँले एउटा उज्यालो मार्गको सुरुवात गर्नुभयो—भैंसीपालन ।

रवि पाध्याले सुरुमा एउटा भैंसी खरिद गरेर भैंसीपालन थाले। उहाँले पहिलो भैंसी रु १ लाख ५० हजारमा खरिद गर्नुभएको थियो। समयक्रममा पशुपालनप्रति रुचि बढ्दै गयो, ज्ञान पनि बढ्दै गयो र अहिले गोठमा सातवटा उन्नत जातका भैंसी र एकवटा स्थानीय जातको भैंसी गरी जम्मा आठवटा भैंसी छन्। त्यहाँ मात्र सीमित छैन, गोठमा हाल चारवटा पाडा र पाडी पनि छन्, जसले भविष्यको आम्दानीको ढोका खोल्नेछ।

दैनिक झन्डै २४ लिटर दूध उत्पादन हुन्छ। प्रति लिटर १२० रुपैयाँमा बिक्री गर्दा रविको मासिक आम्दानी करिब १ लाख रुपैयाँसम्म पुग्छ। बिहान सबेरै उठेर भैंसी दुहिसकेपछि रवि दाना र पोखरे बजारका घरघरमा दूध पुर्‍याउन जानुहुन्छ। बिहान ७ बजे बजारतर्फ हिँड्ने उहाँ १० बजे फेरि गोठ फर्किन्छ।

“एक घण्टा हिँडेर जान्छु, तर मलाई थकाई लाग्दैन। किनभने यो मेरो पसिनाको मूल्य हो,” रविले मुस्कुराउँदै भन्नुभयो। उहाँ भन्छन्, “कतारमा पनि काम गरें, यहाँ पनि गर्छु। फरक यत्ति हो—त्यहाँको कमाइ घर पठाउनु पर्थ्यो, यहाँको कमाइ घरमै लाग्छ।”

दुई वर्षसम्म घुम्ती गोठ सञ्चालन गरेपछि हाल स्थायी गोठमा भैंसीपालन भैरहेको छ। गोठ निर्माणमा अन्नपूर्ण गाउँपालिकाले ७५% अर्थात् १ लाख ६६ हजार रुपैयाँ सहयोग गरेको थियो भने रविले २५% आफैँ लगानी गर्नुभयो। हालसम्म कुल ११ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

“रवि जस्ता किसानलाई साथ दिन पाउँदा हामीलाई गर्व लाग्छ। गाउँमै युवाले रोजगारी सिर्जना गरे, यसले अरूलाई पनि हौसला दिन्छ,” — श्याम सरण कुर्मी, प्रमुख, कृषि शाखा, अन्नपूर्ण गाउँपालिका।

“पशुपालनमा प्रविधि र प्रोत्साहन जोडिन सके कृषकको आम्दानी दोब्बर हुन्छ। रविको गोठ त्यसैको उदाहरण हो,” — रुपेश कुमार चौधरी, प्रमुख, पशु सेवा शाखा।

हालसम्म उहाँको गोठमा करिब ११ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। यस कार्यमा पालिकाका पशु सेवा प्रमुख रूपेश कुमार चौधरी र कृषि अधिकृत श्याम सरण कुर्मीले प्राविधिक सहयोग पुर्‍याएका छन्। सुडान घाँस, अन्य घाँस जात र खनजोत व्यवस्थापनमा पनि कृषक पाध्याले नियमित ध्यान दिनुभएको छ।

पछिल्लो समय हजारौँ युवाहरू रोजगारको खोजीमा विदेशिने क्रम बढ्दो छ। तर रवि पाध्याले देखाएका छन्—विदेशभन्दा देशमै पसिना बगाएर पनि आर्थिक समृद्धि सम्भव छ। उहाँको सन्देश स्पष्ट छ: “विदेश जान जरुरी छैन, यदि इमान्दार मेहनत गर्ने आँट छ भने आफ्नै माटोमा पनि जीवन सजिलो र गौरवपूर्ण बनाउन सकिन्छ।”

पछिल्लो दुई वर्षमा दुहारी गाउँको स्वरूप नै बदलिएको छ। रविका गोठमा आउने विद्यार्थी, अन्य कृषक र पर्यटकहरूले उहाँको सफलताबाट प्रेरणा लिन्छन्। उहाँ अब अरू किसानलाई पनि तालिम दिने सोचमा हुनुहुन्छ।

एउटा भैंसीबाट सुरु भएको यात्रा अहिले आठवटा भैंसी, लाखौँ आम्दानी र सफल गोठ सञ्चालनसम्म आइपुगेको छ। यसले देखाउँछ—पैसाको मात्र होइन, सोचको पनि खेती गर्नु पर्दछ। विदेशिएको सपना होइन, गाउँमै बचेको सम्भावनाले रवि पाध्यालाई सफल बनाएको छ।