बेनी, म्याग्दी – लामो दुरीका यात्रामा समेत विद्यार्थीहरूलाई सहुलियत दिन म्याग्दीको बेनीस्थित म्याग्दी कोरला यातायात प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ।
शुक्रवार साँझदेखि लागू हुने यो छुट सुविधा परीक्षण चरणमा बेनी–काठमाडौँ तथा बेनी–पोखरा रुटका यात्रु बसमा प्रदान गरिने भएको छ।

हाल बेनीदेखि काठमाडौँको बस भाडा रु १,५०० र पोखराको रु ५०० रहेकोमा, विद्यार्थीहरूले यसमा विशेष छुट पाउनेछन्।
प्रालिका अध्यक्ष मोहन केसीका अनुसार म्याग्दी र पर्वतको जलजला गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीहरूका लागि २५ वर्ष मुनिका विद्यार्थीलाई ३० प्रतिशत र २५ वर्षभन्दा माथिका विद्यार्थीलाई १५ प्रतिशत छुट दिने निर्णय गरिएको छ।

“सहरी क्षेत्रमा मात्र सीमित रहेको विद्यार्थी छुट सुविधा ग्रामीण र लामो दुरीको यातायातमा समेत विस्तार गर्न हामीले यो कदम चालेका हौं,” केसीले बताए।

कोरला यातायातले सामाजिक उत्तरदायित्वको अभ्यासस्वरूप विभिन्न क्षेत्रहरूमा गर्दै आएको चन्दा, सहयोग र प्रायोजन खर्च कटौती गरेर विद्यार्थी अनुकूल भाडादर ल्याएको बताइएको छ।

“यो पहिलो चरण हो,” अध्यक्ष केसीले भने, “दशैंपछि अन्य जिल्लाका काउन्टरमा पनि विस्तार गर्ने योजना छ। अहिलेको परीक्षण चरणबाट प्राप्त अनुभवका आधारमा योजना परिमार्जन र विस्तार गरिनेछ।”

देशभरका विद्यार्थीहरूका लागि लामो दुरीका गाडीमा यो प्रकारको छुट सुविधा दुर्लभ रहँदै आएको सन्दर्भमा कोरला यातायातको यो पहल विद्यार्थी र अभिभावक दुवैका लागि सकारात्मक सन्देश बन्ने देखिन्छ।