- ‘अहिले जे गतिविधि राजावादीका नाममा गर्न खोजिँदैछ त्यो मुलुकलाई अँध्यारो युगतिर लाने निरर्थक कोसिस हो’
काठमाडौँ — कोही व्यक्ति जन्मिँदै श्रेष्ठ हुने र कोही अयोग्य हुने मान्यता सामान्ती प्रथा र मानवताविरुद्धको चिन्तन भएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले त्यस्तो सामन्ती र मानवताविरुद्धको चिन्तन समाजमा स्थापित हुन नदिने स्पष्ट पारेका छन् । - राष्ट्रिय अपांगता संगठन, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नरहेको बताए । राजतन्त्र पुन:स्थापनाको माग मानवताविरुद्धको चिन्तन भएको उनको भनाइ छ । ‘जन्मजात श्रेष्ठताको सामन्ती प्रथा र मानवताविरुद्धको चिन्तन हो । त्यो चिन्तनको विरुद्धमा खडा भएको पार्टी एमाले हो । त्यसप्रकारको गलत चिन्तनलाई समाजमा कुनै पनि हालतमा स्थापित हुन दिँदैनौं,’ उनले भने, ‘मानिसको व्यक्तित्व जन्मिसकेपछि उसले प्राप्त गर्ने अवसर र उसले जीवनसंघर्षमा निर्वाह गर्ने भूमिकामा भर पर्दछ । को व्यक्ति श्रेष्ठ हो भन्ने कुरा व्यक्तिले आफ्नो जीवनमा गर्ने योगदानमा भर पर्दछ । जन्मका आधारमा कोही श्रेष्ठ हुन सक्दैन ।’
नेपालमा अहिले रहेको व्यवस्थामा सुधार गर्न तयार रहेको तर राजतन्त्र पुन:स्थापना हुन नदिने पोखरेलको भनाइ थियो । ‘लोकतन्त्र र गणतन्त्र हाम्रो जीवनपद्धति हो । यसमा कमी छन् भने सुधार गर्दछौं र अझै समृद्ध गर्दछौं,’ उनले भने ।
राजावादीका नाममा भइरहेका गतिविधि मुलुकलाई अँध्यारोतिर लैजाने प्रयास भइरहेको पोखरेलको भनाइ थियो । ‘अहिले जे गतिविधि राजावादीका नाममा गर्न खोजिँदैछ त्यो मुलुकलाई अँध्यारो युगतिर लाने निरर्थक कोसिस हो । हामी त्यो कोसिसलाई सफल हुन दिँदैनौं र त्यसप्रकारका दुष्प्रचारबाट समाजलाई जोगाउनेतर्फ लाग्छौं,’ उनले भने ।
एमालेले आधुनिक लोकतान्त्रिक, गणतान्त्रिक चेतना अंगीकार गरेको बताउँदै पोखरेलले सबै नागरिकले समान अवसर प्राप्त गर्ने व्यवस्थाको गणतन्त्र भएको बताए ।








