म्याग्दी टाइम्सले डिजिटल सञ्चार मार्फत् सुशासन र समृद्धिको यात्रा शुभारम्भ गरेको छ ।

मार्स मल्टी मिडिया हाउस प्रालिद्वारा सञ्चालित म्याग्दी टाइम्स डटकमको औपचारिक शुभारम्भ शुक्रवार म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले गर्नु भएको छ । करिब सात महिनासम्म परीक्षण प्रसारणमार्फत आवश्यक तयारी, क्षमता, पहुँच र उद्देश्यलाई सबल बनाउँदै “सुशासन र समृद्धिका लागि सञ्चार” भन्ने मूल नाराका साथ म्याग्दी टाइम्सले नेपाली पत्रकारितामा नयाँ अध्याय थालनी गरेको हो ।

देशका हरेक भुगोलका नागरिकका कथा, व्यथा, आशा र सम्भावनालाई उजागर गर्दै आजको डिजिटल दुनियाँमा विश्वभर समय सापेक्ष र प्रेरणादायी समाचारहरु सम्पेषण गर्ने म्याग्दी टाइम्सले प्रतिवद्धता गरेको छ ।

पत्रकारिता हाम्रो धर्म, सत्य हाम्रो साधना, तथ्य हाम्रो खोज म्याग्दी टाइम्सको मुख्य ध्ये रहनेछ । हामी कलमसँगको कर्मलाई केवल पेशा नभई दायित्वको रुपमा लिन्छौं। समाचारमा तथ्य, तटस्थता र निडरता हाम्रो मुल मन्त्र हुनेछ । समाजका हरेक बेथितिमा हामी जनताको आवाज र प्रश्न बनेर सुशासन र परिवर्तनको पक्षमा उभिरहने छौ । हामी कुनै व्यक्तिवि शेष वा सत्ताको पक्षमा होइन, सत्य र जनताको पक्षमा उभिने प्रण गर्दछौ ।

 

भ्रष्टाचार, अनियमितता र अन्यायको विरुद्ध सत्यको उज्यालो बोकेर हामी हिँड्नेछौं। सुशासनका संरचनालाई बलियो बनाउने, स्थानीय सरकारलाई जवाफदेही बनाउने र जनताको हक–अधिकारको पक्षमा सवाल उठाउने हाम्रो प्रयास निरन्तर हुनेछ।

हामी यो यात्रामा केवल पत्रकारको भूमिकामा होइन, तपाईं सबैको सूचना र समाचारको संवाहक र सराथी भएर अगाडि बढ्न चाहन्छौं। प्रिय दिग्गन पाठक, दर्शक, श्रोता, शुभच्छुक शुभचिन्तकले दिने सुझाव सल्लाह, प्रतिक्रिया, समालोचना र सहयोगले नै हाम्रो मार्ग तय हुनेछ।हामी तपाईंहरूको साथ, सहयोग, विश्वास र भरोसामामा म्याग्दी टाइम्सलाई जन–जनसम्म पुर्‍याउने छौं। म्याग्दी टाईम्स केवल एक डिजिटल पोर्टल मन्त्र होइन, यो समाज, सुशासन र परिवर्तनको सारथी हो।

अन्त्यमा, हामी नागरिकका हरेक जायज आवाजलाई सम्मान गर्दै, सशक्त र जिम्मेवार पत्रकारिताका साथ म्याग्दी सहित देश र विश्वभर पुग्न प्रयासरहत रहने छौं।
हामी तपाई सँगै रहनेछौ, तपाई हामी सँगै रहनुहुनेछ ।

– म्याग्दी टाईम्स परिवार

 

मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका प्रमुख केसीले सञ्चारमाध्यमले आलोचना र प्रशंसा सत्यताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष हरिकृष्ण गौतम,म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष धुब्र जिसी लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच म्याग्दी टाइम्सको शुभारम्भको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि मिडिया सोसाईटीले जितेको छ । पहिलो चरणको खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी बिच भएको खेलमा दुईका विरुद्ध ६ गोल गर्दै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी पत्रकार महासंघ बि र म्याग्दी मिडिया सोसाईटी बिच भएको खेलमा २ का बिरुद्ध ९ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले फाइनलको यात्रा तय गरेको थियो ।

फाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र म्याग्दी मिडिया सोसाईटी बिचको खेलमा २ का बिरुद्ध ३ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले प्रथम म्याग्दी टाइम्स फुटसलको उपाधी जितेको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता म्याग्दी मिडिया सोसाईटीका किरण कार्की र उत्कृष्ट खेलाडी पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की घोषित भएका थिए । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र मार्स मल्टी मिडिया हाउस प्रालिका अध्यक्ष शिव बोहोराले ट्रफी,मेडल वितरण गर्नुभएको थियो ।