म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयमा विद्यार्थी संख्या दिनानुदिन घटिरहेको छ। पछिल्लो समय विद्यालयबाट सयौं विद्यार्थीहरू अन्यत्र सरेपछि यो विषयले अभिभावकदेखि सरोकारवाला निकायसम्मको ध्यान तानेको छ।

शैक्षिक सत्र सुरू हुनासाथ, रत्नेचौरबाट बागलुङ नगरपालिका तर्फ जाने पहेँलो रंगका बसहरू विद्यालय गइरहेका बालबालिकाले भरिन थालेका छन्। बागलुङका निजी तथा सहकारी विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढ्दै गएको देखिन्छ।

उपलब्ध तथ्यांकअनुसार हालसम्म मात्र १६३ जना विद्यार्थी निजी विद्यालयतर्फ र १२ जना सरकारी विद्यालयतर्फ गइसकेका छन्। यसरी जम्मा १७५ जना भन्दा बढी विद्यार्थी रत्नेचौर छाडेर बागलुङका विभिन्न विद्यालयमा भर्ना भएका छन्। यसरी स्थानीय विद्यालयबाट विद्यार्थीको विस्थापन हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

छिमेकी जिल्लातर्फ विद्यार्थीको आकर्षण बढ्नुमा विद्यालयको गुणस्तर, व्यवस्थापन र सिकाइको वातावरणप्रतिको असन्तुष्टि मुख्य कारण रहेको स्थानीय सरोकारवालाहरू बताउँछन्।

भानु माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा अभिभावक टेक के. खत्रीले भने, “शिक्षकहरू विद्यालयमा छन्, तर पढाइमा ध्यान छैन। कक्षाकोठा खाली छन्, तर व्यवस्थापन मौन छ। हामी बाध्य भएर आफ्ना बच्चा निजी विद्यालयमा पठाउनुपरेको हो।” त्यसैगरी, टिका बहादुर महतले भने, “विद्यालयको गुणस्तर दिनानुदिन खस्कँदै गएको छ। प्रशासनिक कमजोरी र जिम्मेवारीको अभावले गर्दा अभिभावकको विश्वास उठेको हो।”

ढालेन्द्र थापा मगरको पनि चिन्ता उस्तै छ। उनले भने, “हामी सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहन्छौं, तर त्यस्तो वातावरण छैन। शिक्षा राम्रो नपाएपछि विकल्प खोज्नैपर्छ।”

अभिभावकहरूको भनाइले देखाउँछ कि विद्यालयमा केवल संरचना भएर मात्र पुग्दैन, गुणस्तरीय शिक्षण, अनुशासन र व्यवस्थापनप्रति भरोसा हुनुपर्छ। स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच समन्वयको खाँचो रहेको स्पष्ट छ।  यदि समयमै सुधार र पहल नभए, रत्नेचौरका सरकारी विद्यालयहरू ‘खाली कक्षाकोठा’मा सीमित हुने खतरा देखिन्छ।

बेनी नगरपालिका १ रत्नेचौर राजनीतिक रुपमा जिल्ला देखि केन्द्रसम्म पहुँच राख्ने गाउँ हो । नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा (मओवादी केन्द) गरेर एकदर्जन भन्दा बढी नेताहरु रत्नेचौरमा छन् । नेकपा एमालेबाट केन्द्रिय राजनीतिमा पहुँच राख्ने नेताहरु पनि यही वडामा छन् । तर सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर छ । रत्नेचौरमा रहेका दुईवटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर देखिएको छ । एकातिर विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै जानु र अर्को तर्फ नतिजा पनि कमजोर हुनुले सामुदायिक विद्यालयको अस्तित्व संकटमा पर्न थालेको छ ।

रत्नेचौरमा रहेको भानु माध्यमिक विद्यालय र रामचन्द्र माध्यमिक विद्यालयको शैक्षिक अवस्था कमजोर भएको छ । नगरपालिकाले संचालन गरेको कक्षा ८ को परीक्षामा भानु माविबाट सहभागी भएका ११ जना विद्यार्थी मध्य कुनैले पनि कक्षा उत्तीर्ण गर्न सकेनन् । त्यस्तै सो वडाको रामचन्द्र माविबाट परीक्षमा सहभागी भएका ११ जनामा ३ जनाले मात्र कक्षा ८ उत्तीर्ण गरे । यसले पनि के देखाउँछ भने राजनीतिक दलका नेता देखि जनप्रतिनिधिहरु सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि कति जिम्मेवार रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ । 

आज  भान माध्यमिक विद्यालयले   बृहत आमभेला तथा शैक्षिक सुधार कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा ,वडाका जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रमको क्रममा जनप्रतिनिधिहरूले विद्यालयको शैक्षिक सुधारका विषयमा अभिभावक तथा समुदायसँग प्रत्यक्ष संवाद गरेका थिए। नगर प्रमुख सुरत केसीले विद्यालयलाई आवश्यक सहयोग प्रदान गर्न नगरपालिकाको तर्फबाट निरन्तर प्रयास हुने प्रतिवद्धता जनाउनु भयो। प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामुदायिक विद्यालयको सुधारमा सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम बहादुर रोका मगरले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर काम भइरहेको जानकारी दिनुभयो। उहाँले भने, “हामी विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर क्रियाशील छौं।”

त्यस्तै, विद्यालयका प्राध्यापक दिनेश बोगटीले विद्यालयको पठनपाठन सुधार गर्न शिक्षकहरू निरन्तर लागिपरेको बताउँदै सामुदायिक सहभागिता अझ बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमले विद्यालयको वर्तमान अवस्था, आगामी योजना र सुधारका सम्भावित उपायहरूबारे खुला छलफलको माध्यमबाट सुझाव सङ्कलन गरेको थियो।