पर्वत । राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशनको तयारीलाई लिएर नेकपा एमाले पर्वत पार्टी कार्यालयमा भएको झडपमा घाइते भएका एमाले पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडी अस्पतालमा भर्ना भएका छन्।
उनी अहिले प्रदेश अस्पताल पर्वतमा उपचाररत छन्। अध्यक्ष पहाडीको छाती र टाउकोको दायाँ भागमा चोट लागेकाले उपचारका लागि अस्पताल भर्ना गरिएको पार्टी सचिव सुवासचन्द्र पौडेलले जानकारी दिए। झडप रोक्ने प्रयासमा उनीमाथि मुक्का प्रहार भएको बताइएको छ।
जिल्ला अधिवेशनका लागि यसअघि अध्यक्ष विनोद थापाको अध्यक्षतामा बसेको बैठकले मिति तोकेको थियो। तर तयारी नपुगेको भन्दै अधिवेशन सार्ने भनिए पनि केन्द्रको निर्देशन अनुसार वैशाख २५ भित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले कार्यक्रम तय गरिएको युवा संघका एक नेताले बताए।
उनका अनुसार असन्तुष्ट पक्षलाई पटकपटक सम्पर्क गरेर अधिवेशनमा सहभागी हुन आग्रह गरिएको थियो। तर, उनीहरू अचानक आएर हातपात सुरु गरेको आरोप लगाइएको छ। अध्यक्ष पहाडीमाथि हातपात गर्न खोजिएपछि प्रतिरक्षामा उत्रँदा झडप भएको र केही अन्य कार्यकर्ताहरू पनि घाइते भएको ती नेताले जानकारी दिए।








