काठमाण्डाै – भारत–पाकिस्तानबीच बढ्दो तनावलाई ख्याल गरेर सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा गस्ति बढाउनुका साथै चेकप्वाइन्टहरू राखेको छ ।

सशस्त्र प्रहरीले ४८ घण्टामा सीमा क्षेत्रमा एक हजार आठ सय ४४ ठाउँमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीले तीन सय १२ पटक सीमा क्षेत्रमा गस्तीसमेत गरेको छ ।

अस्ति मङ्गलवार बिहानदेखि आज बिहानसम्म ४८ घन्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र दुई सय २८ वटा एकल गस्ती गरेको डीएसपी थापाले बताउनुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा १० हजारभन्दा धेरै जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँगकाे समन्वयमा सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको डीएसपी थापाले बताउनुभयो ।