म्याग्दी, बेनी।
बेनी नगरपालिकाको १२ औँ स्थापना दिवस तथा विश्व रेडक्रस दिवसको अवसरमा बिहीबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रम बेनी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तथा रक्त संचार केन्द्र बेनीको प्राविधिक सहयोगमा विरेन्द्रचोकमा सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमको विशेष आकर्षणको रूपमा बेनी नगरपालिकाका मेयर सुरत केसीले आफ्नो ८३ औँ पटक रक्तदान गर्नुभएको छ। उहाँले विगत दुई दशकदेखि नियमित रक्तदान गर्दै आउनुभएको हो।

मेयर केसीले भन्नुभयो:

“रक्तदान जीवनदान हो। म हरेक वर्ष जति सकिन्छ त्यति पटक रक्तदान गर्न प्रयास गर्छु। हाम्रो सानो योगदानले कसैको जीवन जोगिन सक्छ भन्ने सोचले म निरन्तर रक्तदान गर्दै आएको छु।”

कार्यक्रममा नगरका अन्य जनप्रतिनिधि, कर्मचारी, युवा तथा सर्वसाधारणको पनि उत्साहजनक सहभागिता देखिएको थियो।

यसै अवसरमा बेनी नगरपालिका परिसरमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। बेनी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट खगराज निउरेका अनुसार १३३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

स्थापना दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल तथा ब्याडमिन्टन खेल पनि आयोजना गरिएको थियो।

नागरिक सहभागिता र स्वास्थ्यप्रति जनचेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख केसीले सम्पूर्ण नगरवासी, कर्मचारी तथा जनप्रतिनिधिहरूलाई शुभकामना व्यक्त गर्दै भन्नुभयो:

“बेनी नगरपालिका विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेको छ। हामी सबैको सहकार्य, योगदान र साझा प्रतिबद्धताले यो यात्रा सफल हुनेमा म विश्वस्त छु।”

कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा सहित विभिन्न तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।