“रक्तदान गर्दा कमजोर हुने भए, आज म मुलुककै सबैभन्दा कमजोर व्यक्ति हुने थिए,” बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले आफ्नो ८४ औं पटकको रक्तदान गरेपछि मुस्कुराउँदै भन्नुभयो। तर सत्य के हो भने, उहाँ कमजोर होइन, अझ बलिया, सक्रिय र समाजसेवामा प्रेरणादायी व्यक्ति हुनुहुन्छ।

म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक्स संघको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा उहाँले ८४ औं पटक रक्तदान गर्दै अरूलाई पनि नियमित रक्तदान गर्न आह्वान गर्नुभयो। उहाँले भन्नुभयो –“रक्तदान भनेको जीवनदान हो। यसले अरूको मात्र होइन, आफ्नै शरीरलाई पनि स्वस्थ बनाउँछ।”

बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले शुक्रबार ८४ औं पटक रक्तदान गर्नुभएको छ।    नगरप्रमुख केसीले नियमित रूपमा रक्तदान गर्दै आउनुभएको छ र यस कार्यलाई मानवीय सेवाको रुपमा लिनुपर्ने धारणा राख्नुभएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सुरत केसीले भन्नुभयो –“रक्तदान जीवनदान हो। कुनै बिरामीलाई समयमै रगत उपलब्ध हुनुले जीवन बच्न सक्छ। म सबैलाई नियमित रक्तदान गर्न आग्रह गर्छु। यस्ता सामाजिक कार्यमा नगरपालिकाको सधैं साथ रहनेछ।”

कार्यक्रममा १८ जना दाताहरूले रक्तदान गरे भने अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।
मानवीय सेवामा समर्पित यो कार्यक्रम म्याग्दी मोबाईल एण्ड इलेक्ट्रोनिक्स संघको चौथो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो। संघका अध्यक्ष अर्जुन पुन र सचिव ईश्वर पुनको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगर प्रमुख केसीसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, युवाहरू तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।