पोखरा–७ बैदाममा रहेको पूर्खेउली पुन समाजको आयोजनामा सात दिने उद्घोषण तालिम सम्पन्न भएको छ । यहि असार २३ गतेदेखि २९ गतेसम्म बैदामस्थित समाज हलमा सम्पन्न तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तालिमको उद्देश्य समाज भित्र रहेका सदस्यहरूको व्यक्तित्व तथा उद्घोषण क्षमताको विकास गर्नु रहेको संस्थाका संस्थापक अध्यक्ष दुध बहादुर राम्जालीले जानकारी दिनुभयो। उहाँका अनुसार, “समाजमा लुकेर बसेका क्षमता उजागर गर्न र सबैमा आत्मविश्वास पैदा गराउन तालिम आयोजना गरिएको हो। हामीले सोचेभन्दा पनि उत्कृष्ट प्रतिक्रिया पाएका छौं। अब यसलाई निरन्तरता दिन प्रयासरत हुनेछौं ।”

तालिमको सहजीकरण फ्रिडम ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक विनोद पहारीले गर्नुभएको थियो । प्रशिक्षक पहारीले सहभागीहरूलाई उद्घोषण मात्र नभई संचार शैली, आत्मविश्वास अभिवृद्धि, दर्शकमाझ प्रस्तुतिको कला, समय व्यवस्थापन लगायतका महत्वपूर्ण पक्षहरूमा प्रशिक्षित गर्नुभएको थियो ।

प्रशिक्षक पहारीले तालिम समापन कार्यक्रममा भन्नुभयो, “तपाईंहरूले सिकेका कुरा केवल कक्षाभित्र सीमित नराख्नुस्, दैनिक व्यवहारमा प्रयोग गर्नुहोस् । त्यसैले तपाईंको व्यक्तित्व बोल्नेछ ।”

प्रशिक्षार्थीहरू पनि तालिमबाट निकै सन्तुष्ट देखिन्थे । सहभागी लक्ष्मी बुदुजाले भनिन्, “पहिले म मञ्चमा बोल्न हच्किन्थें, तर अब म मनको कुरा खुलेर भन्न सक्छु जस्तो लाग्छ ।” अर्का सहभागी ईस्वर तिलिका पुनले भने, “यो तालिमले मलाई जीवनका हरेक क्षेत्रमा आत्मविश्वाससाथ प्रस्तुत हुन प्रेरणा दिएको छ ।”

उक्त तालिमले समाजका सदस्यहरूमा नेतृत्व क्षमताको विकास, सार्वजनिक मंचमा अभिव्यक्ति दिने कला र आत्मविश्वासको अभिवृद्धिमा ठुलो सहयोग पुर्‍याएको सहभागीहरूको अनुभव रहेको छ। आयोजक पूर्खेउली पुन समाजले आगामी दिनमा यस्ता तालिमहरूलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।