मंगला आमा समूह बेनी म्याग्दीको आयोजनामा र बौद्ध युवा क्लबको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा केन्द्र बेनी म्याग्दीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले नियमित रक्तदानले अरुको जीवन बचाउने मात्र होइन, स्वयं रक्तदाता पनि स्वस्थ रहने बताउनुभयो । रक्तदान जीवनदान हो, यसले समाजमा मानवता र सहकार्यको सन्देश दिन्छ।
कार्यक्रममा मंगला आमा समूहकी अध्यक्ष तकसरा रानाले संस्थाले सामाजिक कार्यलाई प्राथमिकतामा राख्दै नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आएको उल्लेख गरिन्। “रक्तदाताहरूको सक्रिय सहभागिताले हामीलाई अझै प्रेरित बनाएको छ,” उनले भनिन्।
कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, स्वयम्सेवी र रक्तदाताहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता जीवनदायी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।








