पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किएका छन । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन साउन ६ गते चीन प्रस्थान गरेका थिए ।

भ्रमणको क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०का महासचिव वाङ झुङजुनसँग भेटवार्ता गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । उक्त भेटवार्तामा गण्डकी प्रदेश र तिब्बतसँग जोडिएको कोरला नाका नियमित सञ्चालन गर्न प्रस्ताव गर्दै, दुई देशबीच व्यापार, पर्यटन र लगानी प्रवर्द्धनका लागि सहकार्य गर्न मुख्यमन्त्रीले जोड दिएका थिए ।

मुख्यमन्त्रीले तिब्बतको नाका हुँदै नेपाली तथा विदेशी तीर्थयात्रीलाई मानसरोवर यात्रा सहज बनाउने, चीनका विभिन्न सहरबाट काठमाडौं र पोखरा जोड्ने हवाई उडान सुरु गर्ने, गण्डकी–तिब्बतबीच पर्यटन तथा लगानी सहकार्य विस्तार गर्ने, र पोखराबाट ल्हासातर्फ आउने पर्यटकको भिसा तथा प्रवेश पासमा सहजीकरण गर्ने विषयमा पनि संवाद गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले तिब्बत सरकार र चीन सरकारको पूर्वाधार निर्माणमा गरिएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यले दुई पक्षबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

सीपीसी महासचिव वाङ झुङजुनले कोरला नाका व्यवस्थापन तथा गण्डकी सरकारको प्रयासको सराहना गर्दै यसलाई साझा सहकार्यको अवसरका रूपमा लिने प्रतिबद्धता जनाए । तिब्बत सरकार कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा गण्डकीसँग सहकार्य गर्न सकारात्मक रहेको उनले बताए ।

भ्रमणकै क्रममा मुख्यमन्त्री पाण्डेसँग लिन्जी नगर समितिका पार्टी सचिव आओ लिउछुआन र नगरप्रमुख बाटासँग पनि भेट गरेका थिए । यो भेटमा पोखरा र लिन्जी सहरबीच पर्यटन, खेलकुद, व्यापार लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । उक्त भ्रमण उपलब्धिमूलक रहेको र यसलाई गण्डकी प्रदेश सरकार र तिब्बत सरकारले निरन्तरता दिने समझदारी भएको मुख्यमन्त्री पाण्डेले बताए । ढोरपाटन संवाददाता