म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६, उपल्लो दरवाङमा आज बिहान घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। निधन हुनेमा सोही स्थानका ६२ वर्षीय सुबिलाल केसी रहेका छन्।
स्थानीयका अनुसार, केसी आज बिहान करिब ५:३० बजेतिर घरबाट घाँस काट्नका लागि गाउँनजिकैको भीरतर्फ जाँदै गर्दा अचानक चिप्लिएर लडेका थिए। भीरबाट तल खसेका केसीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, “बिहान करिब ५:३० बजे मालिका–६ का सुबिलाल केसी घाँस काट्न जाने क्रममा भीरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएको थियो। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
मृतकको शवलाई पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएकाे प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले केसीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।








