म्याग्दी, कार्तिक २ — नेपाली क्लब बहराइनले बेनी नगरपालिका वडा नं ६ मा अवस्थित विद्यामन्दिर आधारभुत विद्यालयको पूर्वाधार विकासका लागि सहयोग रकम हस्तान्तरण गरेको छ। शुक्रबार एक विशेष कार्यक्रमका बीच विद्यालयलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली क्लब बहराइनका महासचिव कृष्ण खामचा मगर, विशिष्ट अतिथि क्लबका संरक्षक छबिलाल बि.क र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास बिश्वकर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि कृष्ण खामचा मगरका अनुसार, “शिक्षा नै राष्ट्रको मेरुदण्ड हो। विदेशमा रहेका नेपालीहरूले आफ्ना गाउँ र विद्यालयका लागि सधैं योगदान पुर्‍याउँदै आउने बताउनु भएको छ । यो सहयोगले विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ।” त्यस्तै विशिष्ट अतिथि छबिलाल बि.क बालबालिकाको उज्ज्वल भविष्यका लागि सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास बिश्वकर्माले नेपाली क्लब बहराइनप्रति आभार व्यक्त गर्दै “हामीले प्राप्त गरेको यो रकम विद्यालयका भौतिक संरचना सुधार तथा शैक्षिक वातावरण सुदृढीकरणमा प्रयोग गर्ने बताउनु भएको छ ।

त्यसैगरी स्थानीय बासिन्दा र विद्यार्थीहरूले पनि उक्त सहयोगले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले विद्यालयको प्रगति र समुदाय–विदेशी नेपालीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।