विगत एकसातादेखि बेनी नगरपालिका–६,जामुनाखर्कस्थित आफ्नै घरबाट बेपत्ता एक बृद्धा जंगलमा मृत अवस्थामा भेटिनुभएको छ। गत असोज २९ गते घर नजिकैबाट सम्पर्कविहिन हुनुभएकी ९५ बर्षिय सानिमायाँ खत्रीको शब मगलबार विहान सानीचौतारीको खोरियामा जिल्ला प्रहरी कार्यालय म्याग्दी र तालिमप्राप्ती कुकुरको टोलीले फेला पारेको हो ।
सोमबार दिनभरी खोजीकार्य गरेपनि कुनै ‘क्लु’ फेला पार्न नसकेपछि सदरमुकाम बेनी फर्किएको तालिम प्राप्त कुकुरलाई विहानको समयमा सम्भावित स्थानको पहिचानका लागि पुनः परिचालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी र पोखराबाट तालिमप्राप्त कुकुर सहित आउनुभएका प्रहरी नायब निरीक्षक मिलन केसीको टोलीले बृद्धाको शब फेला पारेको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
‘घटनास्थलको अवस्था हेर्दा पहराबाट खसेजस्तो देखिन्छ, शबको पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ, अनुसन्धान जारी छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । घटनास्थल मृतकको घरभन्दा साढे दुई सय मिटर तल रहेको छ । मृतक वृद्धाले लगाएको लुगाफाटो जस्ताकोतस्तै रहेकाले बन्यजन्तुको आक्रमण नभई लडेकै कारणले मृत्यु भएको जस्तो देखिएकाले पोष्टमार्टम रिर्पोटपछि मात्रै जानकारी हुने प्रहरीले जनाएको छ ।








