बेनी, म्याग्दी — आउँदो २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप म्याग्दीमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य तीव्र रूपमा जारी रहेको छ। जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामावली अद्यावधिक गर्ने अभियान सञ्चालन गरेको हो।
निर्वाचन कार्यालयका अनुसार हालसम्म २४५ जनाले नयाँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरिसकेका छन्। जिल्ला निर्वाचन अधिकारी विमल प्रसाद गौतमका अनुसार मतदान गर्न योग्य प्रत्येक नागरिकले आफ्नो नाम दर्ता गरेर मताधिकार सुरक्षित गर्न आवश्यक छ।
उहाँले भनुभयो , “आफ्नो मताधिकार सुरक्षित गर्न सबै योग्य नागरिकले निर्वाचन कार्यालयमा आएर मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गर्दछौं।” गौतमले आवश्यक कागजातसहित समयमै नाम दर्ता गर्न आग्रह गर्दै निर्वाचन प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।