सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ साधारण सभाअन्तर्गत बेनी सदस्य सेवा केन्द्र एकाइको सभा आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। सभाको औपचारिक उद्घाटन शेयर सदस्य झकबहादुर थापा छेत्रीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो।
कार्यक्रमको सञ्चालन ज्ञानेन्द्रराज पन्तले गर्नुभएको थियो। कार्यक्रममा बेनी शाखा सेवाकेन्द्र समन्वयक भीमबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल तथा सेवा केन्द्र प्रमुख शारदा रेग्मी पौडेलको विशेष उपस्थिति रहेको थियो।

अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारीले स्थानीय आर्थिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै, “सदस्यहरूको सक्रियता, विश्वास र निरन्तर सहयोगकै कारण संस्था आज सुदृढ बनेको छ,” भन्नुभयो।

त्यसैगरी, सेवाकेन्द्र समन्वयक भीमबहादुर श्रेष्ठले नियमित बचत, पारदर्शिता र सहकार्यलाई प्राथमिकतामा राख्दै सेवा केन्द्र निरन्तर प्रगतितर्फ अघि बढिरहेको बताउँदै, “सहकारीले बनाएको आर्थिक अनुशासन र सदस्यहरूको सहभागिताले नै आजको उपलब्धि सम्भव भएको हो,” भन्ने धारणा राख्नुभयो।

सेवा केन्द्र प्रमुख शारदा रेग्मी पौडेलले सदस्यहरूबीच आपसी भरोसा, अनुशासन र सहकार्य नै सहकारीको मूल शक्ति भएको उल्लेख गर्दै, “आगामी दिनमा सेवा विस्तार, गुणस्तर वृद्धि तथा सदस्यमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ,” भन्नुभयो।

कार्यक्रममा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा सहकारीको वार्षिक कार्यसम्पादन, आर्थिक विवरण, सेवा प्रवाह तथा आगामी योजनासम्बन्धी विषयमा विस्तृत छलफल र समीक्षा गरिएको आयोजकले जनाएको छ।