बेनी । बेनी नगरपालिका का नगर प्रमुख सुरत केसी ले बेनी बजारलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउन सरसफाइ तथा फोहोर व्यवस्थापन केन्द्र निर्माणलाई नगरपालिकाको उच्च प्राथमिकतामा राखिएको स्पष्ट गर्नुभएको छ।
नगर प्रमुख केसीका अनुसार बेनी बजारमा बढ्दो जनघनत्व, व्यापारिक गतिविधि र शहरी विस्तारसँगै फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। “नगरको दिगो विकास र नागरिकको स्वास्थ्य सुरक्षाका लागि व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य छ,” उहाँले भन्नुभयो, “यसका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको छ र अब सबैको सहमतिमा उपयुक्त स्थान छनोट गरेर केन्द्र निर्माण अघि बढाउने हाम्रो स्पष्ट योजना छ।”
उहाँले यसअघि प्रस्ताव गरिएको जोगिगाडे क्षेत्रको विषयमा पनि स्पष्ट पार्नुभयो। वातावरणीय प्रभाव अध्ययन (EIA) का क्रममा उक्त क्षेत्र नदीबाट ५०० मिटरभित्र पर्ने भएकाले वातावरणीय मापदण्ड पूरा नहुँदा योजना अघि बढ्न नसकेको नगर प्रमुख केसीको भनाइ छ। “कानुन र वातावरणीय मापदण्डको पालना नगरपालिकाको दायित्व हो, त्यसैले विकल्प खोज्न बाध्य भएका हौँ,” उहाँले भन्नुभयो।
नगर प्रमुख केसीले सरसफाइ तथा फोहोर व्यवस्थापन केन्द्र निर्माण कुनै एक ठाउँ वा समुदायको मात्र विषय नभई सम्पूर्ण नगरवासीको साझा सरोकार भएको उल्लेख गर्दै विवादरहित र दीर्घकालीन समाधान खोज्न सबै नगरवासीसँग सहकार्यको अपिल गर्नुभयो। “नगरबीसी दाजुभाइ तथा दिदीबहिनीहरू सबै मिलेर उपयुक्त स्थान पहिचान गरौँ, बेनीलाई सफा, स्वस्थ र सुन्दर शहर बनाउने हाम्रो साझा लक्ष्य हो,” उहाँले जोड दिनुभयो।
नगरपालिकाले आगामी दिनमा सरोकारवाला निकाय, स्थानीयवासी र विज्ञहरूसँग छलफल गरी वातावरणमैत्री, वैज्ञानिक र दीगो फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्ने तयारी गरेको जनाएको छ।








