नेपाल सरकारले सार्वजनिक बिदाका दिनमा समेत सर्वसाधारणलाई सेवा प्रवाह गर्न गरेको विशेष निर्णय म्याग्दीमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी १५ वटा सार्वजनिक बिदाका दिनमा पनि सेवा नियमित गर्न निर्देशन दिए पनि जिल्लाका केही कार्यालयहरूले त्यसको अवज्ञा गर्दै बिदा मनाएको पाइएको छ। केही कार्यालय खुले, केहीमा ताल्चा छ भने , जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक गरेको सूचना अनुसार, बिदाको दिनमा पनि नागरिकलाई सेवा दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत र नापी कार्यालयहरू खुल्ला रहेका थिए । यी कार्यालयहरूले नियमित रूपमा सेवा प्रदान गरे पनि जिल्लाका अन्य महत्वपूर्ण कार्यालयहरू भने बन्द पाइएका छन्।

विशेष गरी पूर्वाधार विकास कार्यालय, सडक आयोजनाहरू, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र, खानेपानी, जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालय (राजस्व सम्बन्धी कार्य) बन्द रहेका थिए। साथै, जिल्लास्थित स्थानीय तहहरू र बैंक तथा वित्तीय संस्थाहरूले समेत सेवा प्रवाह नगरी कार्यालय बन्द राखेका थिए।

के थियो सरकारी निर्णय? नेपाल सरकारले मिति २०८१/११/१५ गते राजपत्रमा सूचना प्रकाशन गर्दै वि.सं. २०८२ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्मका विभिन्न १५ वटा सार्वजनिक बिदाका दिनमा सरकारी सेवा नियमित गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा म्याग्दी जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै नागरिकता, राहदानी, स्वास्थ्य, विद्युत, खानेपानी, र बैंकिङ्ग जस्ता अत्यावश्यक सेवाहरू नरोक्न निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी निकायलाई दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्न आग्रह गरे पनि सबै कार्यालयहरूले यसलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।