बेनी, म्याग्दी २०८२ पुस ११ गते

म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीको औपचारिक निरीक्षण तथा अवलोकन सम्पन्न गर्नुभएको छ। शुक्रबार कार्यालयको निरीक्षणका क्रममा उहाँले प्रहरीको कार्यसम्पादन र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको हो।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै नागरिकमैत्री सेवा प्रवाह र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “नागरिकको जिउधनको सुरक्षा र समाजमा शान्ति सुव्यवस्था कायम गर्नु प्रहरीको प्राथमिक कर्तव्य हो। प्रचलित कानुनको परिधिमा रहेर उच्च मनोबलका साथ काम गर्न म आग्रह गर्दछु।”

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, प्रहरी नायव उपरीक्षक (DSP) सूर्य बहादुर थापाले म्याग्दी जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती र प्रहरीले अपनाएका रणनीतिका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले जिल्लामा अपराध न्यूनीकरण र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन चालिएका कदमहरूका बारेमा समेत जानकारी गराउनुभयो।

निरीक्षणका क्रममा प्रजिअ आचार्यले कार्यालयको भौतिक पूर्वाधार, थुनुवा कक्ष, मेस र अभिलेख व्यवस्थापनको समेत अवलोकन गर्नुभएको थियो। कार्यक्रममा जिल्लाका अन्य सुरक्षा निकायका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।