म्याग्दी , १७ पुस । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलाहरुलाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्नका लागि ‘परम्परागत पञ्चेबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । बुधवारदेखि सुरु भएको परम्परागत पञ्चेबाजा बजाउने तालिममा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।
वडाभित्र पञ्चेबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, ब्रतबन्धलगायतका शुभ कार्यहरुमा पञ्चेबाजा बजाउननका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाहरुको आयआर्जन बढाउनका लागि पञ्चेबाजा बजाउन सिकाउन थालिएको सिकाई केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो । ‘‘हरेक शुभ कार्यहरुमा पञ्चेबाजा बजाउने प्रचलन रहिआएको छ, हाम्रो वडाभित्र पञ्चेबाजा बजाउने समूह नहुँदा बाहिरबाट बाजा बजाउने टोली खोज्नुपर्ने बाध्यता छ, त्यसलाई हटाउन तालिम सञ्चालन गरेका हौँ’’– केन्द्रका अध्यक्ष शर्माले भन्नुभयो ।

सिङ्गाको राक्सेमा पाँच बर्ष पहिलेदेखि स्थानीय महिलाहरुले पञ्चेबाजा बजाउन सुरु गरेका थिए । बाजा बजाउन सिप सिकेका केहि महिलाहरु वैदेशिक रोजगार, विवाह लगायतको कारण गाउँबाहिर गएपछि राक्से नौमती बाजा आमा समूह समेत निष्कृय बन्न थालेपछि वडाभित्रका सबै महिला तथा आमा समूह र इच्छुक युवायुवतिहरुलाई पञ्चेबाजाको सिप सिकाउन तालिम सञ्चालन भएको हो । पुरानो साँस्कृतिक चिनारीको रुपमा रहेको पञ्चेबाजाको सिप संरक्षण तथा पुस्तान्तरण गर्दै आयआर्जनमा समेत टेवा पु¥याउन पञ्चेबाजा तालिमले सहयोग पुग्ने वडा अध्यक्ष अर्णबहादुर खड्का (भगवान)ले जानकारी दिनुभयो ।

४५ दिनसम्म सञ्चालन हुने तालिममा चर्चित पञ्चेबाजा बाधक प्रकाश परियार र सतप्रसाद छिनालले व्यवहारिक अभ्यास मार्फत प्रशिक्षण दिनुहुनेछ । तालिम पश्चात महिला समूहलाई व्यावसायिक रुपमा पञ्चेबाजामा आबद्ध गराउन नौमति पञ्चेबाजाका सामाग्री खरिद गरी उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष २०८२÷०८३ मा नौमती बाजा संरक्षण तथा सिप विकासका वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु १ लाख ५० हजार र सिप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले रु १ लाख २० हजार अनुदान उपलब्ध गराएको सिकाई केन्द्रका सामाजिक परिचालक सीता थापा कुँवरले जानकारी दिनुभयो ।

तालिमको शुभारम्भ गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले महिलाहरुले पञ्चेबाजा सिप सिकेर व्यावसायिक रुपमा सक्रिय हुन सकेमा आयआर्जन सुधार हुने बताउनुभयो । ‘‘पञ्चेबाजा हाम्रो समाजको साँस्कृतिक गहना हो, बाजा बजाउने सिपले जीवन्त रुपमा महिलाहरुलाई आयआर्जनमा आबद्ध हुने अवसर सिर्जना गर्छ, नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाएर मात्मनिर्भर बनाउने अभियानमा सहयोग गर्छ’’–मेयर केसीले भन्नुभयो । परम्परागत रुपमा पञ्चेबाजा पुरुषले बजाउने भएपनि पछिल्लो समय महिलाहरुले समेत पञ्चेबाजा बजाउन सुरु गरेका छन् । नेपाली धार्मिक एवंम साँस्कृतिक बाजाको रुपमा रहेको पञ्चेबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाह, झ्याली, कर्नललगायतका बाजा हुन्छन भने यि बाजाबाट ३२ तालका बाजा बचाउने गरिन्छ । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, शिक्षा उपसचिब क्षेत्रबहादुर भण्डारीले पञ्चेबाजा बजाउने सिपले महिलाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राक्से नौमती बाजा आमा समूहका अध्यक्ष नन्दकुमारी शर्मा, जनजागृति आमा समूहका अध्यक्ष डम्मरकुमारी बानियाँ, वडा सदस्य सन्दिप खत्री लगायतले मन्तव्य राख्नुभएको थियो भने सामाजिक परिचालक सीता थापा कुँवरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कमल खत्री