अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्‍याएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिकाले नै शासन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न शहरमा सैन्य आक्रमण गरेको बताइएको छ । आक्रमणलगत्तै अमेरिकी सेनाको विशेष आतंकवाद विरोधी इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको अमेरिकी पक्षको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत मादुरो अमेरिकी नियन्त्रणमा रहेको फोटो सार्वजनिक गर्दै पक्राउको औपचारिक पुष्टि गरेका हुन् । सार्वजनिक तस्बिरमा मादुरोको हातमा हतकडी, आँखामा कालोपट्टी, ग्रे रंगको ट्र्याकसुट र कानमा हेडफोन देखिन्छ ।

यसैबीच, फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने,
‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउनेछ।’

न्यूयोर्कमा मुद्दा चलाइने

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध मुद्दा चलाइने जानकारी दिएको छ । उनीहरूमाथि लागुऔषध कारोबारलाई प्रश्रय दिएको आरोप लगाइएको छ ।

अमेरिकी अटर्नी जनरल पामेला बन्डीले एक्समार्फत लेखेकी छन्,
‘निकोलस मादुरोमाथि अमेरिका विरुद्ध नार्को–आतंकवादको षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र, मेसिनगन तथा खतरनाक हतियार राख्ने र त्यससम्बन्धी षड्यन्त्रको अभियोग छ।’

उनले मादुरोले छिट्टै अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्ने पनि बताएकी छन् । तर मादुरोकी पत्नीमाथि लगाइने आरोपबारे स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकाले गरेको आक्रमणको रूस, चीन, कोलम्बियासहित विभिन्न देशले कडा निन्दा गरेका छन् ।