बेनी (म्याग्दी) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले बेनी नगरपालिका–१ मा सांगठनिक विस्तारलाई तीव्रता दिँदै पहिलो वडा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले धन्य बहादुर बोगटीको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।

मंगलवार सम्पन्न अधिवेशनबाट कार्यसमितिको उपसभापतिमा निशा शर्मा, सचिवमा गोपाल रावल र उपसचिवमा नन्द बहादुर थापा चयन भएका छन् । समितिको सदस्यहरूमा दल बहादुर थापा, नारायण बोगटी, तेज भण्डारी, बिन्दु थापा र विष्णु कुमार बोगटी रहेका छन् ।

पार्टीको आन्तरिक संरचनालाई मजबुत बनाउन संगठन विभागको संयोजकमा गणेश शर्मा र उपसंयोजकमा धन्जु बोगटीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, राष्ट्रिय अभियान टोली (RAT) तर्फ राम गिरी संयोजक र चन्द्र बहादुर बोहोरा उपसंयोजक चयन भएका छन् ।

अधिवेशनमा सहभागी वक्ताहरूले परम्परागत राजनीतिको विकल्पमा रास्वपा आएको भन्दै अब वडा तहबाटै सुशासन र पारदर्शिताको अभ्यास सुरु गरिने बताए । “हाम्रो प्राथमिकता टोल र वडामा सुशासन कायम गर्नु र जनउत्तरदायी राजनीति स्थापना गर्नु हो,” नवनिर्वाचित सभापति बोगटीले भने ।

पछिल्लो समय म्याग्दीका विभिन्न स्थानीय तह र वडाहरूमा रास्वपाले संगठन निर्माण र अधिवेशनलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।