म्याग्दी, पोखरेबगर।
नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीको विस्तारित बैठक आज गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण, सांगठनिक कार्ययोजना निर्माण तथा आगामी पार्टी अभियानका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हरिकृष्ण श्रेष्ठले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू जनताको सुख–दुःखमा सधैँ साथ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्न स्थानीय तहबाटै सक्रियता र इमान्दार प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

बैठकमा नेकपा (एमाले) म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्लाको पछिल्लो राजनीतिक अवस्था र पार्टीको रणनीतिक तयारीबारे जानकारी गराउनुभयो।
त्यसैगरी युवा नेता प्रकाश पौडेल र नेतृ बलादेवी राईले युवा तथा महिलाको सक्रिय सहभागितामार्फत पार्टीलाई थप गतिशील बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा पुनले स्थानीय सरकारमार्फत जनपक्षीय कामलाई प्रभावकारी रूपमा अघि बढाएर एमालेप्रतिको जनविश्वास अझ बलियो बनाउनुपर्ने बताउनुभयो।

अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धन कुमार पुर्जाको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिकाका विभिन्न वडाका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैठकले आगामी पालिका स्तरीय अभियान सञ्चालन, सदस्यता नवीकरण तथा संगठन विस्तारसम्बन्धी विषयमा ठोस निर्णयहरू समेत गरेको जनाएको छ।