धौलागिरी गाउँपालिका संवाददाता म्याग्दी, २३ पुस
नेकपा (एमाले) धौलागिरी गाउँपालिका कमिटी, म्याग्दीको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले आयोजित बैठक विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको हो।
संगठन बलियो बनाउन जोड
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीलाई जनताको विश्वासको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो। संगठनलाई अझ बलियो र अनुशासित बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीका नीति, सिद्धान्त र कार्यक्रमलाई प्रत्येक घरधुरीमा पुर्याउन कार्यकर्ताहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।”
अध्यक्ष सुवेदीले विकास, सुशासन र स्थायित्व एमालेको मुख्य एजेण्डा भएको दाबी गर्नुभयो। “जनताको पक्षमा दृढतापूर्वक उभिने पार्टीका रूपमा एमालेलाई स्थापित गर्न सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्छ,” उहाँले थप्नुभयो, “हामीले जनताका समस्या बुझ्ने मात्र होइन, तिनको समाधानमुखी राजनीति गर्नुपर्छ।”
नेताहरूको सहभागिता
बैठकमा नेकपा (एमाले) म्याग्दीका सचिव थमसरा पुन, नेता सतप्रसाद रोका, युवा नेता सुबास विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले वर्तमान राजनीतिक परिस्थिति र स्थानीय तहमा पार्टीको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो।
बैठकमा गाउँपालिका अन्तर्गतका विभिन्न वडा तथा टोल कमिटीका नेता एवं कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संगठन निर्माण र जनसेवाका काममा देखिएका चुनौतीबारे रिपोर्टिङ गरेका थिए।
बैठकको अध्यक्षता धौलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीले गर्नुभएको थियो। बैठकले आगामी महिनाका लागि विभिन्न सांगठनिक कार्ययोजना समेत पारित गरेको जनाइएको छ।








