म्याग्दीको धवलागिरी गाउँपालिकामा २० वर्षीया श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२३ ठुलाखेत घर भई हाल सृजनाचोक बस्ने ३२ वर्षीय प्रेम भन्ने रमेश कामी रहेका छन्।
घटनाको विवरण गत माघ ३ गते राति करिब ११ बजे धवलागिरी गाउँपालिका–७ झिंडाँडास्थित माइती घरमा बस्दै आएकी २० वर्षीया पुनमाया वि.क. माथि धारिलो हतियार प्रहार भएको थियो। घरबाहिर निस्केको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले उनलाई उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पुर्याएको थियो। उपचारकै क्रममा माघ ४ गते राति २:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
यसरी भयो हत्या प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, अभियुक्त रमेश कामी पोखराबाट बागलुङको ढोरपाटन हुँदै श्रीमतीको माइती घर पुगेका थिए। उनी घर नजिकैको झाडीमा लुकेर बसेका थिए। राति १०:४५ बजेको समयमा पुनमाया शौचालयका लागि बाहिर निस्केको मौका छोपेर रमेशले चक्कु प्रहार गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्।
प्रहरीको सफल अपरेशन जिल्ला प्रहरी कार्यालय म्याग्दी, गण्डकी प्रदेश प्रहरी र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले प्राविधिक अनुसन्धानका आधारमा रमेशलाई माघ ४ गते साँझ ९ बजे पोखरा–१७ बिरौटाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले निजको साथबाट घटनाको समयमा लगाएको रगत लागेको कम्ब्याट ज्याकेट, एक थान रेडमी मोबाइल र दुईवटा सिमकार्ड बरामद गरेको छ।
थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीका अनुसार, पक्राउ परेका रमेशमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









