म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको उत्तर-पूर्वी क्षेत्रमा अवस्थित एक स्थानीय तह हो । यो प्राकृतिक र सांस्कृतिक रूपमा अत्यन्तै धनी पालिका हो । नेपालको नयाँ सङ्घीय प्रशासनिक विभाजन अनुसार तत्कालीन बेगखोला, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले गरी ८ वटा वडाहरू मिलेर रघुगङ्गा गाउँपालिका बनेको छ । रघुगङ्गा गाउँपालिकाले स्थानीय नागरिकलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रवाह गर्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले योजना सम्झौता, भुक्तानी, र सिफारिस जस्ता कार्यहरूलाई प्रविधिमैत्री बनाएर प्रशासनिक ढिलासुस्ती कम गरेको छ । सुशासनलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, र सूचनाको हकको प्रभावकारी कार्यान्वयन गरिएको छ । गाउँपालिकाका हरेक गतिविधिमा पारदर्शिता कायम गर्दै आर्थिक अनुशासन र सदाचारलाई जोड दिइएको छ । नागरिकका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न संयन्त्र विकास गरी जनताप्रति उत्तरदायी, पारदर्शी र जनमुखी स्थानीय सरकारको रूपमा यस गाउँपालिकाले आफ्नो पहिचान बनाउँदै लगेको छ ।

रघुगंगा गाउँपालिकाले सुशासन प्रवर्द्धन, पारदर्शी आर्थिक प्रणाली र प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई चुस्त बनाएको छ। जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठक (स्टाफ मिटिङ) मार्फत जनताका कामहरू बिनाढिलासुस्ती, छिटोछरितो रूपमा सम्पादन गर्ने परिपाटी बसालेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभएको छ।
“जनताको समय एकदमै महत्वपूर्ण छ, त्यसैले प्रशासनिक काममा कसैलाई पनि अलमल्याउनु हुँदैन,” अध्यक्ष भण्डारीले भन्नुभयो, “मूल सफा भए मात्रै पोखरीसम्म सबै कुरा सफा हुन्छ। हामीले आर्थिक अनुशासनलाई कडा बनाएका छौँ, जसले गर्दा सानो बजेट पनि कतै चुहावट हुन पाएको छैन।”
विगत ९ वर्षभन्दा बढी समयदेखि सार्वजनिक जीवनमा रहनुभएका गाउँपालिका अध्यक्षले आफूले पालिकाको तर्फबाट कुनै पनि होटल खर्च वा हवाई टिकट खर्च नलिएको स्पष्ट पार्नुभयो। गाउँपालिकाको जग्गा व्यवस्थापनका लागि मात्र १७ पटक काठमाडौँ आउजाउ गर्दा समेत उहाँले कार्यपालिका बैठकको भत्ताबाहेक अन्य कुनै पनि भ्रमण भत्ता (टीए/डीए) लिनुभएको छैन । अघिल्लो कार्यकालमा समेत आफ्नो सेवा–सुविधाबापतको रकम जनहितका कार्यमा खर्चिनुभएका अध्यक्षले पालिकाको आर्थिक पाटोलाई पूर्ण रूपमा पारदर्शी र बेदाग राखिएको दाबी गर्नुभयो ।

गाउँगाउँमा सिंहदरबार’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका गुनासाहरूलाई टोलटोल र वडा वडामै पुगेर प्रत्यक्ष सम्बोधन गर्ने गरेको छ । हावाहुरी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ति वा अन्य स्थानीय समस्याहरूका बारेमा जानकारी लिन जनप्रतिनिधिहरू आफैँ जनताको घरदैलोमा पुग्ने गरेका छन् । वडा अध्यक्षहरूसँगको समन्वयमा गाउँपालिकाले जनताका तात्कालिक समस्याहरूलाई सोही स्थानमै समाधान गर्ने संयन्त्र विकास गरेका छन ।
वडा भवन निर्माणको अवस्थाःविगत र वर्तमानको तुलना
सीमित स्रोतसाधन र भौगोलिक विकटताका बाबजुद रघुगंगा गाउँपालिकाले सुशासन र नागरिक केन्द्रित पूर्वाधार विकासमा अनुकरणीय कार्य गरिरहेको छ। पहिलो निर्वाचनका बेला गाउँपालिकाका कुनै पनि वडाको आफ्नै सुविधासम्पन्न भवन नरहेको अवस्थालाई बदल्दै हाल पालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो फड्को मारेको छ। ८ वटा वडामध्ये ६ वटा वडामा गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको भनाइ:
“निर्वाचनका बेला हाम्रा कुनै पनि वडाका आफ्नै सुविधासम्पन्न भवन थिएनन्। तर, हाल पालिकाले भौतिक पूर्वाधारमा ठुलो फड्को मार्दै ८ वडामध्ये ६ वटामा आफ्नै प्रशासनिक भवन निर्माण गरिसकेको छ। वडा नं. १ र २ मा पहिलो वर्ष र पहिलो कार्यकालभित्रै भवन निर्माण कार्य सम्पन्न भई सेवा सुचारु भइसकेको थियो। वडा नं. ३ मा पनि भवन निर्माण सम्पन्न भइसकेको छ र हाल त्यहाँ थोरै जग्गा व्यवस्थापनको काम मात्र बाँकी रहेको छ। यस्तै, वडा नं. ४ मा यस वर्ष भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
वडा नं. ५ र ६ मा त सिंगो गाउँपालिका नै सञ्चालन गर्न सकिने स्तरका, अत्यन्तै अत्याधुनिक र सुविधासम्पन्न वडा भवनहरू निर्माण गरिएका छन्। भौगोलिक र प्राकृतिक चुनौतीका कारण वडा नं. ७ र ८ मा भने हालसम्म आफ्नै भवन बन्न सकेको छैन । वडा नं. ७ को क्षेत्र भौगोलिक रूपमा अत्यन्तै कमजोर र पहिरोको उच्च जोखिममा रहेकाले सुरक्षित जग्गा फेला पार्न सकिएको छैन। साविकको गाविस भवन रहेको ’धमाकु’ भन्ने स्थान सर्वसाधारणका लागि पायक नपर्ने भएकाले हाल यो वडा कार्यालय भाडाको घरबाट सञ्चालित छ।
वडा नं. ८ को हकमा, वि.सं. २०७८ सालको भीषण बाढीले रितुङ माध्यमिक विद्यालय बगाएपछि, हाल सोही विद्यालयको बाँकी रहेको एउटा कोठाबाट वडाको प्रशासनिक काम चलाइँदै आएको छ। विस्थापित रितुङ माविलाई भने गाउँपालिकाले अर्को सुरक्षित स्थानमा व्यवस्थापन गरिसकेको छ । सुरक्षित जग्गा प्राप्ति हुनासाथ यी दुवै वडामा पनि आफ्नै भवन निर्माणको प्रक्रिया अगाडि बढ्नेछ ।

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुनको अनुसार गाउँपालिकालाई समृद्ध बनाउन भौतिक पूर्वाधार जत्तिकै महत्वपूर्ण पक्ष यहाँको सुशासन र पारदर्शी सेवा प्रवाह हो भन्ने कुरामा हामी स्पष्ट छौँ। हामी निर्वाचित भएर आएपछि पालिकाभित्र नागरिकले पाउने सेवालाई छिटो, छरितो, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउन निरन्तर प्रयत्नशील छौँ। बजेट र योजनामा पारदर्शितामा गाउँपालिकाका हरेक विकास निर्माणका योजनाहरू उपभोक्ता समिति र सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा छनोट र कार्यान्वयन हुने गरेका छन्। योजनाहरूको नियमित अनुगमन, सार्वजनिक परीक्षण (Public Hearing) र सार्वजनिक सुनुवाइलाई हामीले अनिवार्य बनाएका छौँ, ताकि राज्यको स्रोतको दुरुपयोग नहोस् र जनताले हरेक खर्चको हिसाब स्पष्ट देख्न पाऊन्। उपाध्यक्षको नेतृत्वमा रहने न्यायिक समितिमार्फत हामीले स्थानीय विवादहरूलाई मेलमिलापको नीति अनुरूप गाउँघरमै निष्पक्ष र छिटो छरितो रूपमा समाधान गर्दै आएका छौँ, जसले विपन्न र पछाडि पारिएका नागरिकलाई कानुनी पहुँच पुर्याएको छ र पालिकाभित्र शान्ति र अमनचयन कायम गर्न मद्दत गरेको छ। 
रघुगंगा गाउँपालिकाले आफनो पालिकाका नागरिकको सेवालाई थप चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउन व्यापक शासकीय सुधारका कार्यक्रमहरू अघि बढाएको छ । संघीय सरकारबाट जारी शासकीय सुधार सम्बन्धी कार्यक्रमहरुलाई आत्मसाथ गर्दै गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा नवीन आयामहरू थपेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलका अनुसार सूचनाको हक र पारदर्शिता सुनिश्चित गर्न पालिका तथा सबै वडा कार्यालयहरूमा नागरिक वडापत्रको अनिवार्य व्यवस्था गरिएको छ । सेवाग्राहीको गुनासो सुनुवाइका लागि गाउँपालिकामा मात्र नभई प्रत्येक वडा कार्यालयमा वडा सचिवलाई नै सूचना तथा गुनासो सुन्ने अधिकारी तोकेर जिम्मेवार बनाइएको छ । संस्थागत सुदृढीकरणका लागि ७० प्रतिशतभन्दा बढी कर्मचारीहरूलाई कार्यसम्पादन र अभिमुखीकरण सम्बन्धी विभिन्न तालिम प्रदान गरी क्षमता विकास गराइएको छ ।
प्रविधिको उच्चतम प्रयोग गर्दै पालिकाले वडा नम्बर ३ मा जिल्लामै पहिलोपटक सरकारी निकायको तर्फबाट ’टोकन प्रणाली’ लागू गरेको छ। यस प्रणालीले सेवाग्राहीको भिड व्यवस्थापन र पालो प्रणालीमा निकै प्रभावकारी भूमिका खेलेको छ । त्यस्तै, वित्तीय सुशासनतर्फ ठूलो फड्को मार्दै पालिकाले लगभग ९८ देखि ९९ प्रतिशत भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गरेको छ भने राजस्व संकलनलाई क्युआर (QR) कोड मार्फत भुक्तानी गर्न सक्ने आधुनिक व्यवस्था मिलाएको छ ।

कार्यालयमा आउने सेवाग्राहीलाई फोटोकपी र प्रिन्ट सम्बन्धी कामको लागि बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले कार्यालयभित्रै निःशुल्क प्रिन्ट र फोटोकपीको व्यवस्था गरेको छ, जसले दुर्गमका नागरिकलाई ठूलो आर्थिक तथा समयको राहत मिलेको छ । सेवाग्राहीको सहजताका लागि प्रत्येक शाखा र कार्यकक्षमा नम्बरिङ गरिएको छ । पालिकामा ई–हाजिरीलाई थप व्यवस्थित बनाउन केन्द्रसँग लिङ्क गर्ने प्रक्रिया अघि बढाइएको छ भने हुलाक सेवाको अधिकतम उपयोग गरी सरकारी कागजातहरू प्रेषण गर्ने गरिएको छ ।

पारदर्शिताका लागि फागुन र चैत महिनाको सोध प्रकाशन वैशाखमै सम्पन्न गरिएको छ । संघीय सरकारको राष्ट्रिय मापदण्ड २०८२ अनुरूप १० प्रतिशतको सीमाभित्र रही संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रस्ताव तयार गरी कार्यपालिकाबाट स्वीकृत गराई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ। साथै, जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू भएका छन ।
पालिकाले ’डाउन टु अप’ (तल्लो तहदेखि माथिसम्म) मोडल अपनाउँदै आगामी नीति तथा कार्यक्रमका लागि वडा र टोल स्तरीय भेला गराई जनसहभागिता मूल योजना तर्जुमा सुरु गरेको छ । विपद् व्यवस्थापनतर्फ ५० लाख रुपैयाँको कोष स्थापना गरी आवश्यक सामग्री भण्डारण गरिएको छ । बजार अनुगमन र उपभोक्ता हितका लागि कृषि शाखा मार्फत दैनिक खाद्यान्नको मूल्य र मौसम तथा बाढी पहिरो सम्बन्धी पूर्व सूचना नियमित रूपमा सामाजिक सञ्जालमा राख्ने गरिएको छ ।

“हामीले नियमित स्टाफ मिटिङ मार्फत कर्मचारीका समस्या सुन्ने र कार्यवातावरण सन्तुलित बनाउने प्रयास गरेका छौँ,“ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “इमेल, इन्टरनेट र गुनासो पेटिकाको नियमित जाँचका साथै कार्यालयमा आउने फोन कलको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाइएको छ, जसले स्थानीय सरकारप्रति नागरिकको भरोसा बढाएको छ ।“
रघुगङ्गा गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र पारदर्शी बनाउने प्रयासलाई तीव्रता दिएको छ । गाउँपालिकाभर हाल कुल १४० जना जनशक्ति (कर्मचारी) कार्यरत रहेको अवस्थामा उपलब्ध स्रोत–साधनको सही सदुपयोग र नागरिकलाई छिटो–छरितो सेवा प्रवाह गर्न पालिकाले विशेष ध्यान दिएको छ ।
गाउँपालिकाको सेवा प्रवाह र सुशासनको अवस्थाबारे बोल्दै स्थानीय युवा रेश्म किसानले पालिकाको प्रयास सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयोः
“पछिल्लो समय गाउँपालिकाको प्रशासनिक कार्यशैली र प्रविधिको प्रयोगमा सुधार देखिएको छ । तर, विकट गाउँहरूका नागरिकले अझै पनि साना कामका लागि झन्झट बेहोर्नु नपरोस् भन्नका लागि यस्ता क्षमता विकासका कार्यक्रमहरू व्यवहारमा लागू हुन जरुरी छ । युवाहरू पालिकाको सुशासन र पारदर्शिताका पक्षमा सधैँ चनाखो छन् ।“
यसैक्रममा, गत २०८२ चैत ४ र ५ गते गाउँपालिकाले मातहतका स्वास्थ्यकर्मी, वडा सचिव लगायतका कर्मचारीहरूको क्षमता विकासका लागि दुई दिने ’सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली’ (PAMS) सम्बन्धी पुनर्ताजगी तथा क्षमता विकास तालीम सम्पन्न गरेको छ ।
तालीममा सहभागी वडा सचिवहरूले यो प्रशिक्षणले दैनिक प्रशासनिक काम र सरकारी अभिलेख चुस्त राख्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । वडा सचिवहरूको सामूहिक भनाइ छः “कार्यालयमा रहेका जिन्सी तथा सार्वजनिक सम्पत्तिको डिजिटल माध्यमबाट सही मूल्याङ्कन र व्यवस्थापन गर्न यो तालीम निकै उपयोगी रह्यो । यसले सेवा प्रवाहलाई थप जिम्मेवार, पारदर्शी र प्रविधिमैत्री बनाउन हामीलाई ऊर्जा दिएको छ ।
समग्रमा, म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सीमित स्रोत र भौगोलिक कठिनाइका बाबजुद सुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवा प्रवाहमा देखाएको सक्रियता अन्य स्थानीय तहका लागि अनुकरणीय छ। जनप्रतिनिधिहरूको दृढ इच्छाशक्ति, प्रशासनिक चुस्तता र नागरिक केन्द्रित सोचले गर्दा पालिकाले ’गाउँगाउँमा सिंहदरबार’ को मर्मलाई व्यवहारमै उतार्न सफल भएको छ।

डिजिटल प्रणालीको अवलम्बन, कर्मचारीहरूको क्षमता विकास, टोकन प्रणाली र पारदर्शी आर्थिक अनुशासनले सेवाग्राहीको समय र श्रमको बचत गरेको छ। यद्यपि, भौगोलिक विकटताका कारण केही वडाहरूमा अझै पनि भौतिक पूर्वाधारको अभाव र पहुँचको चुनौती कायम नै छ। तथापि, निरन्तरको सुधार प्रक्रिया, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय तथा जनसहभागितामूलक योजना तर्जुमाले रघुगङ्गा गाउँपालिकालाई एक जनमुखी, पारदर्शी र सुशासित स्थानीय सरकारको रूपमा स्थापित गराएको छ। भविष्यमा प्रविधिको अझ बृहत् प्रयोग र पूर्वाधार विकासले यस गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने छ ।







