भुगोल आफैँमा क्रुर हुन्न, तर कहिलेकाहीँ यसको फैलावट र जटिलताले मानिसको जीवनलाई निकै कठोर परीक्षामा पारिदिन्छ। हिमालका टाकुराहरू जति सुन्दर देखिन्छन्, तिनकै फेदमा बसेका बस्तीहरूको कथा उत्तिकै संघर्षपूर्ण हुन्छ। पहाडका थुम्का, भिरालो जमिन र कुइनेटो परेका खोँचहरूमा मुस्कान छरिरहेका ती निर्दोष अनुहारहरूको सबैभन्दा ठुलो संघर्ष नै ‘लाग्ने रोग र नपाउने उपचार’ सँग जोडिएको छ। यस्तै एउटा कठोर तर सुन्दर भूगोलको नाम हो— धवलागिरी गाउँपालिका।
भौगोलिक रूपमा यो गाउँपालिका अत्यन्तै जटिल, भिरालो र छरिएका बस्तीहरूले भरिएको छ। विकासका आधुनिक सुविधाहरू यहाँ भित्रिन खोज्दै त छन्, तर कतिपय वडाहरूमा पुग्न आज पनि सदरमुकाम बेनी वा गाउँपालिकाको केन्द्र मुनाबाट घण्टौँको पैदल यात्रा वा कहालीलाग्दो भिरको कठिन सडक यात्रा तय गर्नुको विकल्प छैन। यही भौगोलिक विकटताका कारण यहाँका विपन्न नागरिकहरूले भोग्नुपरेको सास्ती शब्दमा बयान गर्न सकिन्न। सामान्यभन्दा सामान्य स्वास्थ्य परीक्षण वा दुखेको जीउ जँचाउनका लागि पनि यहाँका गरिब जनताले दरबाङ वा बेनीको प्रादेशिक अस्पताल पुग्न ठुलो आर्थिक भार बेहोर्नुपर्छ।

धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको कुल क्षेत्रफलको झन्डै आधा अर्थात् १ हजार ३७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको हिमाली र पहाडी स्थानीय तह हो । साबिकका गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको केन्द्र मुनामा अवस्थित छ । संसारकै सातौँ अग्लो धौलागिरी हिमाल यही गाउँपालिकाको शिरमा पर्दछ । विषम परिस्थितिमा यहाँ स्थापित स्वास्थ्य चौकीहरू नै स्थानीय नागरिकका लागि ‘भगवान्’ सरह बनेका छन् । ताकम स्वास्थ्य चौकी, मुना स्वास्थ्य चौकी, मुदी स्वास्थ्य चौकी, लुलाङ स्वास्थ्य चौकी, मराङ स्वास्थ्य चौकी र अति दुर्गम गुर्जामा रहेको स्वास्थ्य संस्थाले प्राथमिक उपचार मात्र होइन, अचेल गाउँ–गाउँमै पुगेर विशेषज्ञ प्रकृतिका स्क्रिनिङ क्याम्पहरू समेत सञ्चालन गर्न थालेका छन ।

म्याग्दी जिल्लाको सबैभन्दा दुर्गम र विशाल भूगोल ओगटेको धौलागिरी गाउँपालिकामा ‘अध्यक्ष संग दिर्घ रोगी कार्यक्रमले’ ग्रामीण भेगमा नसर्ने रोगको जोखिम निकै बढेको देखाएको छ । गाउँपालिकाका ७ वटै वडाका स्वास्थ्य चौकीहरूमार्फत ३० वर्षभन्दा माथिका ६३२ जना नागरिकको स्वास्थ्य परीक्षण गर्दा मोटोपना र उच्च रक्तचापको समस्या भयावह रूपमा रैथाने बन्दै गएको तथ्य फेला परेको छ । पालिकाका सबै वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले हिँडेरै भौगोलिक अवरोधहरू पार गर्दै नागरिकको घरदैलोमै पुगेर यो दीर्घ रोगी कार्यक्रमको तथ्याङ्क सङ्कलन गरेका छन जसले गर्दा अस्पताल पुग्न नसक्ने बुढाबुढीहरूले आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गराउने अवसर पाएका छन ।
धवलागिरी गाउँपालिका स्वास्थ्य शाखाको अनुसूची–३ प्रतिवेदन अनुसार परीक्षण गरिएका ६३२ जनामध्ये सबैभन्दा बढी ६९ जनामा मोटोपना देखीएको छ भने ६३ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । त्यसैगरी २४ जनामा मधुमेह (सुगर) र १० जनामा मिर्गौलाको गम्भीर रोग निदान भएको छ । विशेषगरी धौलागिरी गाउँपालिका वडा नं. १ (गुर्जा) मा अनपेक्षित रूपमा ९२ जनाको परीक्षण गर्दा ६ जनामा उच्च रक्तचाप देखिएको छ , मधुमेह २ जनामा देखीको छ । यस्तै वडा नं. २ (लुलाङ)मा ७५ जनाको परीक्षण गर्दा उच्चा रक्तचाप ५ जनामा र मधुमेह २ जना देखीको छ भने २१ जना मोटोपनाको समस्या देखिएको छ ,भने वडा नं.३ मुनामा ७६ जनामा परीक्षण गर्दा उच्चा रक्तचाप १२ जनामा देखीएको छ भने मधुमेह २ जना र मोटोपना १५ जनामा देखीको छ । भने वडा नं.४ मुदीमा ८७ जनामा परीक्षण गर्दा ८ जनामा उच्च रक्तचाप र मधुमेह ४ जना , मिर्गौलाको रोग १ जनामा र मोटोपना ५ जना देखीएको छ । त्यस्तै वडा नं.५ मल्कवाङमा ४४ जनामा परीक्षण गर्दा ५ जनामा उच्च रक्तचाप , मधुमेह २ जना,मोटोपान १ जनामा देखीएको छ भने वडा नं.६ मराङमा १३७ जनामा उच्च रक्तचाप ९ जना, ६ जना मधुमेह , ९ जना मिर्गौलाको रोगी , १२ जनामा मोटोपना देखा परेको छ । वडा नं. ७ ताकममा १२१ जनामा परीक्षण गर्दा १८ जना उच्च रक्तचाप, ६ जना मधुमेह र १५ जनामा मोटोपना देखा परेको छ । गम्भीर अवस्थाका १९ जना बिरामीलाई भने थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा प्रेषण (Refer) गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीले खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण गाउँघरमा नसर्ने (दीर्घ) रोगको ग्राफ उकालो लाग्नु निकै चिन्ताजनक भएको बताउनुभएको छ। स्क्रीनिङ कार्यक्रमबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्दै उहाँले गाउँ–गाउँमा शारीरिक श्रम घट्दै गएको र जंक फुडको प्रयोग ह्वात्तै बढेको उल्लेख गर्नुभयो।
प्रमुख क्षेत्रीका अनुसार वडा नं. १ गुर्जा जस्तो विकट हिमाली क्षेत्रमा ९२ जनाको परीक्षण गर्दा ६ जनामा उच्च रक्तचाप देखिनु र वडा नं. ६ मराङमा ९ जना मिर्गौलाका रोगी भेटिनु गम्भीर विषय हो। बढी नुनिलो र चिल्लो खानपान तथा स्वास्थ्य सचेतनाको कमीले यस्तो समस्या निम्तिएको बताउँदै उहाँले भन्नुभयो, “धेरै नागरिक आफूलाई रोग लागेको थाहै नपाई बसिरहनुभएको अवस्थामा यो शिविरले उहाँहरूलाई समयमै उपचारको दायरामा ल्याएको छ।”“स्वास्थ्य शाखा प्रमुखको हैसियतले म के स्पष्ट पार्न चाहन्छु भने, यी पहिचान भएका बिरामीहरूलाई हामी नियमित औषधिको पहुँचमा राख्नेछौँ । गम्भीर प्रकृतिका मिर्गौला र अन्य १९ जना बिरामीलाई हामीले सुरक्षित रूपमा ’रेफर’ गरेका छौँ । अब हाम्रा स्वास्थ्य चौकीहरूमा केवल सरुवा रोगको मात्र होइन, यी नसर्ने र दीर्घ रोगहरूको नियमित स्क्रिनिङ र परामर्श सेवालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउनेछौँ ।“

धवलागिरी गाउँपालिका म्याग्दीले आर्थिक वर्ष २०८२-८३ को स्वास्थ्य क्षेत्रतर्फको बजेट विनियोजन तथा खर्चको चालु आर्थिक वर्षको समीक्षा विवरण अनुसार संघीय सरकारबाट हस्तान्तरित सामाजिक विकास क्षेत्र अन्तर्गत स्वास्थ्य उप–क्षेत्रको बजेट खर्च विवरण अनुसार केही महत्वपूर्ण कार्यक्रमहरू उत्साहजनक रूपमा सम्पन्न भएका छन् भने केही ठूला योजनाका बजेटहरू अझै मौज्दात अवस्थामा रहेका छन् । गाउँपालिकाको विवरण अनुसार चालु आर्थिक वर्षमा ’समुदाय स्तरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ्ग (फागुन महिना) तथा जनचेतना कार्यक्रम सञ्चालन’ शीर्षकमा विनियोजित १ लाख ५० हजार रुपैयाँमध्ये १ लाख ४९ हजार ५५० रुपैयाँ (९९.७० प्रतिशत) खर्च भएको छ । यो कार्यक्रम पालिकामा सबैभन्दा बढी वित्तीय प्रगति हासिल गर्ने योजना बनेको छ ।
त्यसैगरी, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको न्यूनतम सेवा मापदण्ड सुदृढीकरण (अभिमुखीकरण, समीक्षा, फलोअप तथा अनुगमन) तर्फ विनियोजित १ लाख १३ हजार रुपैयाँमध्ये ६२ हजार ४४८ रुपैयाँ (५५.२६ प्रतिशत) खर्च भएको छ भने आकस्मिक अवस्थामा औषधि एवं ल्याब सामग्री ढुवानी, स्थलगत अनुशिक्षण तथा क्षयरोग कार्यक्रमको योजना तर्जुमातर्फ ९५ हजार बजेटमध्ये ७८ हजार ७७ रुपैयाँ (८२.१९ प्रतिशत) खर्च भइसकेको छ । पालिकाको पोषण कार्यक्रममा पनि ४ लाख ५६ हजार बजेट विनियोजन गरिएकोमा २ लाख २ हजार ८०० रुपैयाँ खर्च भई ४४.४७ प्रतिशत प्रगति देखिएको छ ।
–
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ’अध्यक्षसँग दीर्घ रोगी कार्यक्रम’ र यसको प्रभावकारिता बारे भनुभयो “दुर्गमका नागरिकको जीवन रक्षा र स्वास्थ्य सुरक्षा नै हाम्रो मुख्य प्राथमिकता हो । धवलागिरी गाउँपालिकाको भौगोलिक विकटता हाम्रा लागि सधैँ एउटा ठूलो चुनौती रहँदै आएको छ । विगतमा सामान्य सिटामोल किन्न वा औषधि उपचारका लागि मात्रै पनि हाम्रा नागरिकहरूले ठूलो रकम र समय खर्च गरेर सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यात्मक अवस्था थियो । बिरामीलाई औषधि किन्ने खर्चभन्दा बेनी आउने–जाने र त्यहाँ बस्ने खर्च बढी हुँदा आर्थिक रूपमा विपन्न धेरै नागरिकहरू मारमा परेका थिए । कतिपयले त आर्थिक अभावकै कारण बीचमै औषधि खान छाड्ने गरेको पीडादायी अवस्था समेत थियो ।
नागरिकको यही आर्थिक र शारीरिक सास्तीलाई सम्बोधन गर्न हामीले ’अध्यक्षसँग दीर्घ रोगी कार्यक्रम’ सञ्चालनमा ल्याएका हौँ । अहिले यो कार्यक्रम दुर्गम र विपन्न नागरिकका लागि वरदान सावित भएको छ । हामीले गुर्जा, लुलाङ, लमसुङ लगायत गाउँपालिकाका सबै वडामा बिनाकुनै भेदभाव समान रूपमा यो सेवा पु¥याइरहेका छौँ । दीर्घ रोगीहरूको आधिकारिक तथ्याङ्क र स्वास्थ्य डकुमेन्टको आधारमा स्वास्थ्यकर्मीहरू आफैँ रिपोर्ट हेरेर बिरामीको घरदैलोमै औषधि लिएर पुग्ने गर्नुभएको छ । यसबाट हालसम्म पालिकाभित्रका करिब ६ सय भन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन् । सार्वजनिक खरिद ऐन र टेन्डर प्रक्रियाका कारण समयमै औषधि आपूर्ति गर्ने सवालमा केही व्यावहारिक र कानुनी चुनौतीहरू पक्कै छन्, जुन देशभरिकै साझा समस्या हो । तर, हामी नागरिकको स्वास्थ्य र औषधिको गुणस्तरमा कुनै पनि बहानामा सम्झौता गर्दैनौँ । मापदण्ड विपरीतका औषधि आएमा आपूर्ति कर्तालाई तत्काल सचेत गराई सुधार गर्ने गरिएको छ । हाम्रा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा गुणस्तरीय र भरपर्दो औषधि मात्रै वितरण भइरहेको छ । आगामी दिनमा पालिकाको स्वास्थ्य संरचनालाई थप सुदृढ बनाउँदै नागरिकलाई गाउँमै भरपर्दो स्वास्थ्य सेवा दिलाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।“

धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले गाउँपालिकाको विकट भूगोल र दुर्गम बस्तीका नागरिकका लागि ‘अध्यक्षसँग दीर्घ रोगी कार्यक्रम’ निकै प्रभावकारी र सहज साबित भएको छ। भौगोलिक रूपमा ठुलो र विकट क्षेत्रमा रहेका विपन्न तथा सामान्य नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ। शिविरमार्फत गाउँमै विशेषज्ञ स्वास्थ्य परीक्षण र परामर्श सेवा पाएपछि स्थानीय नागरिकलाई सामान्य जाँचकै लागि पनि ठुलो खर्च गरेर सदरमुकाम वा ठुला सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ, जसले गर्दा विशेषगरी आर्थिक रूपमा विपन्न र ज्येष्ठ नागरिकहरूलाई ठुलो राहत मिलेको छ। “हाम्रो १ हजार ३७ वर्ग किलोमिटरको विशाल र विकट भूगोलमा स्वास्थ्य सेवा पुर्याउनु आफैँमा चुनौतीपूर्ण छ। तर, प्रशासनिक रूपमा हामीले स्वास्थ्य चौकीहरूको सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राखेका छौँ। यो शिविरबाट प्राप्त वास्तविक तथ्याङ्कका आधारमा आगामी बजेटमा प्रत्येक स्वास्थ्य चौकीमा आवश्यक औषधि, ल्याब (Laboratory) सामग्री र प्रविधिको न्यायोचित वितरण गरिनेछ। दुर्गमका नागरिकले सामान्य परीक्षणकै लागि गाउँ छाड्नुपर्ने बाध्यता अन्त्य गर्न हामी प्रतिबद्ध छौँ।” गाउँपालिकाले यस कार्यक्रममार्फत संकलन गरेको वास्तविक तथ्याङ्क (Data) का आधारमा अब आगामी दिनमा स्रोत र साधनको न्यायोचित वितरण गर्ने रणनीति लिएको प्रमुख प्रशासकीय अधिकृत शर्मा बताउनु भयो ।

भौगोलिक चुनौती र स्वास्थ्य चौकीहरूको भूमिकवाबारे स्थानीय स्वास्थ्यकर्मी एवं ताकम स्वास्थ्य चौकीका प्रतिनिधिले भौगोलिक विकटता छिचोल्दै नागरिकको सेवामा खटिएको अनुभव सुनाउनुभयो । “साविकका ७ वटा गाविस मिलेर बनेको यो पालिकाका कतिपय बस्ती निकै छरिएका छन्। वडा नं. १ गुर्जा वा मुदी जस्ता दुर्गम ठाउँमा स्वास्थ्यकर्मीहरू घण्टौँ हिँडेर नागरिकको घरमै पुगेका हुन् । स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएकी वडा नं. ३ मुनाका स्थानीयका अनुसार“हाम्रो गाउँबाट सदरमुकाम बेनी वा दरबाङ पुग्न गाडी भाडा र बस्ने खाने खर्चले नै गरिबलाई ढाड सेक्छ । आफ्नै गाउँको स्वास्थ्य चौकीमा डाक्टर र स्वास्थ्यकर्मी आएर सुगर, प्रेसर र मिर्गौला सबै जाँच गरिदिए ,हामी जस्ता दूरदराजका बुढाबुढीका लागि यो सरकार आएको जस्तै भयो ।“

सीमित स्रोत-साधन र कानुनी जटिलताका बाबजुद गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र प्रशासनिक नेतृत्वले यस कार्यक्रममार्फत करिब ६ सय भन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभान्वित गराएका छन्। बजेट खर्चको समीक्षा गर्दा नसर्ने रोग स्क्रिनिङ्ग तर्फ ९९.७० प्रतिशत वित्तीय प्रगति हुनुले यसको प्रभावकारिता पुष्टि गर्छ। पहिचान भएका बिरामीलाई गाउँमै नियमित औषधि उपलब्ध गराउने र गम्भीर १९ जनालाई थप उपचारका लागि रेफर गर्ने यो कदमले वास्तविक रूपमा गाउँमै सरकार भएको आभास गराएको छ। यो वास्तविक तथ्याङ्कलाई आधार मानेर आगामी दिनमा स्वास्थ्य संरचना र प्रविधिको न्यायोचित वितरण गर्न सकेमा मात्र पालिकाको यो सराहनीय प्रयासले पूर्ण सार्थकता पाउनेछ।








