प्राकृतिक सौन्दर्यको अनुपम उपहार, जैविक विविधताको खानी र हिमशृङ्खलाहरूको देश नेपाल । नेपालको पर्यटन क्षेत्रमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका एउटा यस्तो नाम हो, जसले विश्वका लाखौँ पर्यटकहरूलाई आफ्नो मोहनी रूपले मन्त्रमुग्ध पार्दै आएको छ। धौलागिरि र अन्नपूर्ण जस्ता हिमशृङ्खलाहरूको काखमा अवस्थित यो गाउँपालिका प्राकृतिक रूपमा मात्र होइन, ऐतिहासिक र सांस्कृतिक रूपमा पनि उत्तिकै धनी छ। मुस्ताङको मुक्तिनाथ जाने मुख्य मार्गमा पर्ने भएकाले यसलाई मुक्तिथान (मुक्तिनाथ) प्रवेश द्वारका रूपमा पनि चिनिन्छ। अचेल यहाँका हिमाल हाँसिरहेका छन् र ती हिमालहरूको मुस्कानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनवरत रूपमा स्वागत गरिरहेको छ।

अन्नपूर्ण गाउँपालिकाको सबैभन्दा ठुलो ऐतिहासिक गौरव भनेको अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमाल हो। यो संसारका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये सबभन्दा पहिला चढिएको हिमाल हो, जसलाई इतिहासमा ‘जेठो हिमाल’ पनि भनिन्छ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको टोलीले यस हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। नेपालमा ८,००० मिटरभन्दा अग्लो हिमाल चढ्ने पहिलो व्यक्ति उनै मौरिस हर्जोग थिए। रोचक कुरा के छ भने, हिमाल आरोहण गरेर फर्केपछि उनी फ्रान्सको युवा तथा खेलकुद मन्त्री समेत बनेका थिए। मौरिस हर्जोगको यो ऐतिहासिक आरोहणले नै विश्वभरका पर्वतारोहीहरूमा ८,००0 मिटरभन्दा अग्ला हिमाल चढ्ने लहर र आँट पैदा गरेको थियो, जुन विश्व पर्यटन इतिहासकै एउटा ठुलो माइलस्टोन बन्यो। यो ऐतिहासिक हिमाल अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा पर्दछ।

विगतमा अन्नपूर्ण प्रथमको बेसक्याम्प (आधार शिविर) जाने व्यवस्थित बाटो थिएन। तर पछिल्लो समय गाउँपालिका, पर्यटन बोर्ड र स्थानीयको सक्रियतामा नारच्याङबाट आधार शिविर पुग्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरी व्यापक प्रचारप्रसार र निर्माण कार्य अगाडि बढाइएको छ। केही समयअघि यस ऐतिहासिक आरोहणको ७५ औँ वार्षिक उत्सव तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा भव्य रूपमा मनाइयो भने हालै ७६ औँ उत्सव समेत सम्पन्न भएको छ। हाल यस पदमार्गमा पर्यटकहरूको सहजताका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग समन्वय गरी विभिन्न ठाउँमा बस्ने सेल्टर र विश्रामस्थलहरू निर्माण गरिएका छन्,कठिन भिरपहराहरूमा रेलिङ हालिएको छ र पदमार्गको स्तरोन्नति गरिएको छ।
पर्यटकहरूका लागि शौचालय, खानेपानी, तथा चिया-खाना खाने ठाउँहरूको व्यवस्थापन गरिएको छ। त्यस्तै यस पदमार्गमा यात्रा गर्दा देखिने फुटफुते झरना, हुमखोला, भुस्केट मेला लाग्ने ठाउँ र पवित्र पञ्चकुण्ड तालले पर्यटकहरूलाई स्वर्गको अनुभूति गराउँछन्। अचेल यहाँ आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ, जहाँ कतिपयले दशैँ र तिहार (भाइटीका) समेत आधार शिविरमै मनाएर टिकटक तथा सामाजिक सञ्जालहरूमा भिडियो हाल्ने नयाँ ट्रेन्ड नै बसालेका छन्।

पुराना गन्तव्यको पुनर्निर्माण र चुनौती
गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोरेपानी पुन हिल दशकौँदेखि विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य हो। सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो ठाउँ प्रख्यात छ। तर पछिल्लो समय कास्की र म्याग्दी दुवैतर्फबाट मोटरबाटो जोडिएपछि परम्परागत पदमार्गहरू भत्किने र छोटिने चुनौती थपिएको छ। विशेष गरी पैदल यात्रा रुचाउने विदेशी पर्यटकहरूका लागि मोटरबाटोले बिगारेका पदमार्गहरूलाई गाउँपालिकाले पुनर्निर्माण गरिरहेको छ। चालू आर्थिक वर्षहरूमा फलाटेदेखि घोपतेखर्क र चितेरेदेखि फलेघरसम्मका पदमार्गहरू थोरै-थोरै बजेट विनियोजन गरेर भए पनि पालिकाले व्यवस्थित बनाएको छ। 
पुन हिल जाने बाटोमा प्रतिक्षालय र भ्यु पोइन्टहरू थपिएका छन्। यसै वर्ष साहसिक खेल प्रेमीहरूका लागि जङ्गलको बीचबाट डरलाग्दो र रोमान्चक एडभेन्चरस साइक्लिङ ट्र्याक समेत निर्माण गरिएको छ। घोरेपानी नजिकैको कालिसार भन्ने खर्कमा गुराँस पार्क निर्माण गरिएको छ, जहाँ चैत-वैशाखमा पाखाभरि राताम्मे फुल्ने गुराँसले पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत पुर्याएको छ। त्यस्तै, नजिकै रहेको पेरी भारानी मन्दिर र तलाउको आफ्नै पौराणिक महत्त्व छ। विगतमा चराहरूले पात टिपेर सफा गर्ने यो अनौठो तलाउ अचेल मानवीय चहलपहल र मोटरबाटोका कारण केही प्रभावित भए पनि यसको पर्यटकीय आकर्षण अझै उच्च छ।

नयाँ पदमार्गको खोजी र ग्रामीण पर्यटनको सम्भवाना
अन्नपूर्ण गाउँपालिकाले पुराना क्षेत्रमा मात्र सीमित नभई नयाँ पदमार्गको खोजी र विस्तारमा ठुलो फड्को मारेको छ।
धौलागिरि आइसफल पदमार्ग: वडा नम्बर १ मा यसै वर्ष १० लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा ४,००० मिटरभन्दा लामो ट्र्याक निर्माण गरी धौलागिरि आइसफल जाने सबैभन्दा छोटो र नयाँ पदमार्गको विकास गरिँदै छ। यो मार्ग आगामी वर्ष राखु र चिम्खोलाको पुराना रुटहरूसँग जोडिनेछ। करपाकेली कम्युनिटी ट्र्याक: वडा नम्बर ८ को राम्चे नजिकै रहेको करपाकेली थानबाट सुरु भई आलडाँडा, महरे डाँडा, नागी, फूलबारी हुँदै खोपरा र मुस्ताङसम्म जोडिने यो ट्र्याक सामुदायिक पर्यटन (कम्युनिटी लज) को उत्कृष्ट नमुना बनेको छ। 
अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले गाउँपालिकाभित्रका विभिन्न वडाहरूमा रहेका पर्यटकीय सम्भावना, नयाँ ट्र्याकहरू र आगामी योजनाका बारेमा यसरी प्रकाश पार्नुभएको छ:
१. करपाकेली कम्युनिटी ट्र्याक र पदमार्गको सञ्जाल (वडा नम्बर ८)
गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने राम्चे र यस आसपासको क्षेत्र पदयात्राका लागि निकै उत्कृष्ट मानिन्छ। यस क्षेत्रमा रहेको करपाकेली थान निकै प्रसिद्ध छ। करपाकेली थानबाट सुरु हुने पदमार्ग माथि आल डाँडा पुग्छ। आल डाँडाबाट पदयात्रीहरू महरे डाँडा जान सक्छन् र त्यहाँबाट तल नागी गाउँमा झर्न सकिन्छ, जहाँ उत्कृष्ट कम्युनिटी लजको व्यवस्था छ। त्यस्तै, आल डाँडाबाट फूलबारी हुँदै घोरेपानी र त्यहाँबाट खोपरातिर जान सकिने अर्को विकल्प पनि छ। यो पुरै रुटलाई “करपाकेली कम्युनिटी ट्र्याक” भनिन्छ। यो ट्र्याक हुँदै घोरेपानी, खोपरा, मुस्ताङ र छिमेकी जिल्ला पर्वतका विभिन्न पर्यटकीय स्थलहरू जोडिने भएकाले यसको व्यावसायिक महत्त्व निकै उच्च छ।

२. धौलागिरि आइसफल जाने सबैभन्दा नजिकको मार्ग (वडा नम्बर १)
वडा नम्बर १ मा चालू आर्थिक वर्षमा रु. १० लाखको लागतमा नयाँ पदमार्ग निर्माण गरिएको छ। यसमा पालिकाको बजेटसँगै स्थानीय बासिन्दाहरूले पनि थप रकम र श्रमदान गरी सहयोग गरेका छन्। स्थानीयको सक्रियतामा करिब ४,००० मिटर भन्दा बढी लामो ट्र्याक निर्माण भइसकेको छ। यो धौलागिरि आइसफल (Dhaulagiri Icefall) जाने सबैभन्दा छोटो र नजिकको पदमार्ग बन्दैछ। आगामी वर्ष केन्द्र सरकारको समेत सहयोगमा बजेट थप गरी चिम्खोला र राखुबाट आउने परम्परागत रुटसँग यसलाई जोड्ने लक्ष्य छ, जसले गर्दा पर्यटकहरू सिधै धौलागिरि आइसफलको फेदीसम्म पुग्न सक्नेछन्।
३. मुन्द्रा चढाउने डाँडा, भुमेथान र दमा छरा (वडा नम्बर २)
वडा नम्बर २ मा पर्ने ‘मुन्द्रा चढाउने डाँडा’ प्राकृतिक दृष्टिकोणले निकै मनमोहक र प्रसिद्ध ठाउँ हो। यो डाँडा प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पुनहिल भन्दा पनि बढी उचाइमा (करिब ३,३०० मिटर भन्दा माथि) अवस्थित छ। यहाँबाट हिमाल, वरपरका गाउँहरू र मनमोहक प्राकृतिक दृश्यहरू स्पष्ट देखिन्छन्। पर्यटकको सुविधाका लागि त्यहाँ विश्रामस्थल (हल) र शौचालयहरू निर्माण गरिएका छन् भने ट्र्याकलाई थप व्यवस्थित बनाउने काम बाँकी छ।
यसै रुटमा भुरुङ र लेकगाउँ नजिकै ऐतिहासिक ‘भुमेथान’ रहेको छ। यस थानको पुनर्निर्माणमा स्थानीय बासिन्दाले पालिकाको थोरै सहयोगमा आफैँले ठुलो रकम उठाएर उत्कृष्ट काम गरेका छन्। भुमेथानको अलि पर खोल्सामा चुनाको पहाडमा पानी बगेर बनेका अद्भुत र अचम्मका प्राकृतिक आकृतिहरू छन्, जहाँ ‘भरानी भारानी’ को पूजा गर्ने गरिन्छ। यसको तल्लो भागमा ‘दमा छरा’ (झरना) रहेको छ, जहाँबाट पानी झर्दा बाजा (दमाहा) बजे जस्तो आवाज आउने गर्दछ। यस झरनालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उच्च सम्भावना छ।

ओझेलमा परेका गन्तव्य उजागर गर्दै पालिका: खोपरा डाँडादेखि खयर लेकसम्म रैथाने रुटको खोजी
विशेष रिपोर्ट
नेपालको पहाडी भूगोल र प्राकृतिक सौन्दर्य आफैँमा अनुपम छ। तर, अझै पनि कतिपय यस्ता रैथाने पर्यटकीय गन्तव्य र पदमार्गहरू छन्, जो पर्यटकको पर्खाइमा ओझेलमा परिरहेका छन् । यस्तै प्रचुर सम्भावना बोकेको एउटा क्षेत्र हो— खोपरा डाँडा र खयर लेक । पालिकाको मुख्य गन्तव्यको रूपमा रहेका यी क्षेत्रहरूलाई विभिन्न दिशाबाट जोड्न र नयाँ ‘भर्जिन’ ट्रयाकहरूलाई व्यवस्थित बनाउन स्थानीय सरकार र पर्यटन बोर्डको सक्रियता बढेको छ ।
परम्परागत बाटो र नयाँ ‘भर्जिन’ ट्रयाकको सम्भावना
खोपरा डाँडा र खयर लेक जाने सबैभन्दा पुरानो र चल्तीको बाटो घारखोलाबाट सुरु हुन्छ। पर्यटकहरू तातोपानी र घारखोला हुँदै माथि घोरेपानी जाने पुरानो चलन त छँदैछ, तर अहिले घारखोलाबाट पाउद्वार गाउँ हुँदै माथि खोपरा र खयर जाने शुद्ध रैथाने र उत्कृष्ट पर्यटकीय रुटलाई थप व्यवस्थित बनाइँदैछ। यसका साथै, घोरेपानीबाट माथि चिप्ले हुँदै भालखरा भन्ने ठाउँ पुग्ने अर्को आकर्षक ट्रयाक पनि छ। भालखरामा एउटा ठुलो र सुन्दर चौर छ, जहाँबाट खोपरा हुँदै खयर लेक पुग्न सकिन्छ। यो मार्ग हालसम्म थोरै मात्र मानिसहरू हिँड्ने भएकाले एउटा ‘भर्जिन’ ट्रयाकका रूपमा रहेको छ, जसलाई पूर्ण रूपमा व्यवस्थित गर्न बाँकी छ।
पर्यटकका लागि अर्को वैकल्पिक मार्ग घोरेपानीबाट चिप्ले झर्ने, चिप्लेबाट फलाटे, फलाटेबाट स्वात हुँदै बयली जाने र बयलीबाट ढानखर्क (चिस्तीबाङ) झरेर खोपरा र खयर पुग्ने रुट पनि उपलब्ध छ। त्यति मात्र होइन, घोरेपानीबाट सिधै घान्द्रुक देउराली हुँदै (मुल्डे भ्यु) र मुल्डे डाँडा भएर बयली र खोपरा जोडिने अर्को महत्वपूर्ण बाटो पनि अस्तित्वमा छ।
पूर्वाधार विकासमा साझेदारी
यी विभिन्न पदमार्गहरूलाई सहज र व्यवस्थित बनाउन पर्यटन बोर्ड र पालिकाले संयुक्त रूपमा लगानी गरिरहेका छन्। केही वर्ष अघि पर्यटन बोर्डको १५ लाख र पालिकाको साढे १६ लाख रुपैयाँको लागतमा पदमार्ग विस्तार, सानो ट्रयाकलाई ठुलो र सहज बनाउने, ठाउँ-ठाउँमा शौचालय र पर्यटकका लागि साना सेल्टर (बास बस्ने ठाउँ) निर्माण गर्ने कार्यहरू सम्पन्न भएका छन्। यसै गरी, प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको सीमित बजेट (५-५ लाख) बाट वडा नम्बर ६ को चित्रेदेखि माथि देउराली जाने पदमार्ग र वडा नम्बर ३ को फगामबाट रमणीय र सुन्दर ठाउँ मोतीचौर जाने पदमार्ग निर्माणको सुरुवात गरिएको छ। मोतीचौर यस्तो ठाउँ हो जहाँबाट उत्कृष्ट प्राकृतिक दृश्यहरू देख्न सकिन्छ र हालै त्यहाँ १०८ धारा समेत निर्माण गरिएको छ।

रुपसे झरनाको संरक्षण र नयाँ साहसिक मार्गको परिकल्पना
यस क्षेत्रको अर्को प्रमुख आकर्षण रुपसे झरना हो । विगत ३ वर्ष अघि सङ्घीय सरकारबाट विशेष अनुदान माग गरी यहाँ पर्यटन पूर्वाधार निर्माण कार्य सुरु गरिएको थियो। बर्खायाममा आउने बाढी र पहिरोको जोखिम कम गर्न पहिरो नियन्त्रणका लागि पाहा (भिर) लाई सिमेन्टेड गर्ने प्रविधि अपनाइएको छ। साथै, झरनाको तल्लो क्षेत्र संरक्षणका लागि ग्याभिन जाली र पलम वाल (Plum Wall) हरू निर्माण गरिएका छन्। पर्यटकहरूलाई आकर्षित गर्न र झरनाको दृश्य नजिकबाट नियाल्नका लागि फेदीदेखि झरनाको शिरको छेउमै पुग्ने गरी सिंढीहरू निर्माण भइरहेका छन् भने शौचालय निर्माणको कार्यक्रम पनि तय गरिएको छ। काब्रे र रुपसे झरना हुँदै धौलागिरी आइसफल जाने छोटो तर कठिन मार्गको पहिचान भएको छ, जसलाई आगामी दिनमा विकास गर्ने लक्ष्य राखिएको छ। 
पुर्खाहरूको गोरेटो र भविष्यको रणनीति
स्थानीय जनप्रतिनिधिहरूका अनुसार, खोपरा-खयरबाट सिधै अन्नपूर्ण बेस क्याम्प (ABC) जाने एउटा पुरानो बाटो छ, जहाँ विगतमा रैथाने पुर्खाहरू र भेडागोठालाहरू हिँड्ने गर्थे। यो ऐतिहासिक मार्गलाई पुनः स्थापित गर्न सके अन्नपूर्ण आउने पर्यटकलाई खोपरा र खयर तथा खोपरा आउने पर्यटकलाई अन्नपूर्णतर्फ घुमाउन सकिने ठुलो सम्भावना छ। यसका साथै, वडा नम्बर १, २ र ३ को धुरी हुँदै धौलागिरी आइसफल जोड्ने ‘हाई अल्टिच्युड ट्रेकिङ ट्रेल’ (High Altitude Trekking Trail) निर्माण गर्ने सोच पनि पालिकाको योजनामा रहेको छ।

‘भारानी ट्रयाक’ र ग्रामीण पर्यटनको आधार
पालिकाले केवल मुख्य पर्यटकीय क्षेत्र मात्र नभई गाउँ-गाउँ जोड्ने पदमार्गहरू पनि व्यापक रूपमा निर्माण गरेको छ। राष्ट्रिय रोजगार कार्यक्रम (भूतपूर्व प्रधानमन्त्री रोजगार कार्यक्रम) मार्फत स्थानीय स्तरमा रोजगार सिर्जना गर्दै गाउँका बाटाहरू सुधार गरिएका छन्। प्रत्येक गाउँ प्राकृतिक रूपमा आफैँमा सुन्दर भएकाले यहाँ होमस्टे (घरबास) सञ्चालन गरी स्थानीय रोजगारी बढाउने प्रशस्त सम्भावना छ।
यस क्षेत्रको अद्वितीय सांस्कृतिक विशेषता भनेको प्रत्येक गाउँमा रहेका ‘भारानी मन्दिर’ वा ‘भारानी थान’ हुन्। भारानीलाई स्थानीयवासीले परापूर्वकालदेखि मानिआएकी देवी वा स्त्री स्वरूपको भगवान्का रूपमा पूजा गर्छन्। यी धार्मिक स्थलहरूलाई जोडेर एउटा विशेष ‘भारानी ट्रयाक’ निर्माण गर्ने योजना समेत अघि सारिएको छ। यस ट्रयाकले गर्दा आस्थावान् मानिसहरू र पर्यटकहरू एक गाउँको भारानी मन्दिरबाट अर्को मन्दिरसम्म पुग्ने वातावरण बन्नेछ। भुमे थान र भारानी थान जोड्ने यी पदमार्गहरू प्रत्यक्ष रूपमा पर्यटनकै नाममा मात्र नबनेका भए तापनि, यसले समग्र ग्रामीण पर्यटन, स्थानीय संस्कृति र आर्थिक विकासमा ठुलो टेवा पुर्याउने निश्चित देखिन्छ।

स्वास्थ्य र संस्कृति: तातोपानी कुण्ड र भारानी ट्र्याक
यस गाउँपालिकाको अर्को मुख्य विशेषता यहाँका तातोपानी कुण्डहरू हुन्। प्राकृतिक औषधीय गुण भएका यी कुण्डहरूलाई उपचार र पर्यटन (Medical Tourism) सँग जोडिएको छ। वडा नम्बर २ को भुरुङ तातोपानी, वडा नम्बर ५ को पाउद्वार तातोपानी, वडा नम्बर ६ को रातोपानी र वडा नम्बर १ को सेकार्कु (महभिर पारि) मा रहेका तातोपानी कुण्डहरूमा देश-विदेशबाट बिरामी र पर्यटकहरू उपचारका लागि आउने गर्छन्।
धार्मिक पर्यटनतर्फ यस क्षेत्रका प्रत्येक गाउँमा रहेका प्रकृतिपूजक भारानी थान (देवी मन्दिर) र भुमे थानहरूलाई जोडेर एउटा छुट्टै ‘भारानी ट्र्याक’ निर्माण गर्ने योजना अघि सारिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम (हालको राष्ट्रिय रोजगार कार्यक्रम) मार्फत गाउँ-गाउँका गोरेटो बाटोहरूलाई पदमार्गका रूपमा रूपान्तरण गरिँदै छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनको भनाइ:अहिले पर्यटन क्षेत्रमा केही चुनौतीहरू पनि छन् । विशेष गरी हाम्रा परम्परागत पदमार्गहरूलाई मोटरबाटोले केही प्रभावित पारेको छ। विश्वप्रसिद्ध घोरेपानी पुन हिल क्षेत्रमा मोटरबाटोका कारण छोटिएका र बिग्रिएका पदमार्गहरूलाई पालिकाले प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको छ । फलाटे-घोपतेखर्क र चितेरे-फलेघर खण्डमा हामीले बजेट व्यवस्थापन गरेर ट्र्याकहरू सुधार गरेका छौँ। पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन घोरेपानी नजिकै कालिसारमा गुराँस पार्क र पेरी भारानी क्षेत्रको संरक्षणमा हामी जुटेका छौँ। त्यस्तै, साहसिक पर्यटनका लागि पुन हिल क्षेत्रमा नयाँ ‘एडभेन्चरस साइक्लिङ ट्र्याक’ समेत तयार गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको भनाइ:”गाउँपालिकाको समग्र विकासको मुख्य आधारमध्ये पर्यटन एक संवाहक क्षेत्र हो। नीति र योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पर्यटकीय पूर्वाधार निर्माणलाई व्यवस्थित र पारदर्शी बनाउनु हाम्रो मुख्य दायित्व हो। अन्नपूर्ण प्रथमको आधार शिविर जाने मौरिस हर्जोग पदमार्ग, धौलागिरि आइसफल पदमार्ग, र ग्रामीण क्षेत्रका कम्युनिटी ट्र्याकहरूको स्तरउन्नति र नयाँ ट्र्याक निर्माणका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी कामहरू अघि बढाइएका छन्।

अन्नपूर्ण गाउँपालिकाका प्रत्येक गाउँहरू आफैँमा प्राकृतिक रूपमा सुन्दर छन्। गाउँका बाटोहरू सुधार गर्दै होमस्टे (सामुदायिक आवास) हरूको थप विस्तार गर्न सकेमा स्थानीय स्तरमै ठुलो संख्यामा रोजगार सिर्जना गर्न सकिने प्रशस्त सम्भावनाहरू छन्। प्रकृतिको वरदान र इतिहासको गौरव बोकेको अन्नपूर्णमा नयाँ पदमार्गहरूको खोजी र पूर्वाधार विकासले यहाँका हिमालहरू अझै बढी मुस्कुराउने निश्चित छ, जसले समग्र नेपालकै पर्यटनलाई विश्व बजारमा नयाँ उचाइ दिनेछ।








