म्याग्दी — पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेत (घुमाउने) र मङ्गला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने जोखिमपूर्ण पहिरो क्षेत्रको दीर्घकालीन समाधानका लागि एक वर्षभित्र बेलिब्रिज निर्माण गरिने भएको छ।
वर्षौंदेखि बर्खायाम सुरु भएसँगै सक्रिय हुने फापरखेत पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। यसले पश्चिम म्याग्दी र बागलुङका हजारौं सर्वसाधारणलाई सास्ती बेहोर्न बाध्य बनाउँदै आएको छ। आकाश बदली हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने अवस्था दोहोरिने भएकाले यस क्षेत्रलाई बेनी–दरबाङ सडकको सबैभन्दा जोखिमपूर्ण बिन्दुका रूपमा लिने गरिएको छ। शनिबार पहिरोस्थलको निरीक्षणका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सम्बन्धित निकायलाई तत्काल सडक सञ्चालनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले वर्षायामभर पहिरो पन्छाउने काम २४सै घण्टा सञ्चालन गर्न, आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्न र यात्रु तथा सवारीसाधनको आवागमन सहज बनाउने गरी काम गर्न निर्देशन दिएका हुन्।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले फापरखेतको पहिरो नयाँ समस्या नभएको उल्लेख गरे। विगतका वर्षदेखि निरन्तर दोहोरिँदै आएको समस्या समाधानमा ढिलाइ हुनु दुःखद भएको भन्दै उनले अब स्थायी समाधानतर्फ अघि बढ्नुपर्ने बताए। “हरेक वर्ष यही ठाउँमा सडक बन्द हुने, नागरिकले सास्ती भोग्ने अवस्था दोहोरिरहनु हुँदैन,” मन्त्री पुनले भने, “अब दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइन्छ र एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।”
उनका अनुसार विपद् व्यवस्थापनलगायतका विभिन्न स्रोतबाट आवश्यक बजेट व्यवस्थापन गरिनेछ। सडक अवरुद्ध हुन नदिन डोजरसहितका हेभी उपकरण निरन्तर परिचालन गरिने र वर्षायामभर सडक सञ्चालनलाई निरन्तरता दिन स्थानीय प्रशासन, सडक डिभिजन तथा सम्बन्धित निकायबीच समन्वय गरिने उनले जानकारी दिए।
फापरखेत पहिरो क्षेत्रलाई छल्ने गरी मङ्गला गाउँपालिका–३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने बेलिब्रिज निर्माणको योजना यसअघि नै प्रस्ताव गरिएको थियो। तर, बजेट अभाव, प्रक्रियागत ढिलाइ तथा समन्वयको कमीका कारण योजना कार्यान्वयनमा जान सकेको थिएन। मन्त्री पुनले अब सम्बन्धित मन्त्रालय, सडक विभाग, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी निर्माण प्रक्रिया अगाडि बढाइने बताए। उनका अनुसार बेलिब्रिज निर्माण सम्पन्न भएपछि फापरखेत पहिरोका कारण हुने सडक अवरोधको समस्या उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।
बेनी–दरबाङ सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि मुख्य यातायात मार्ग हो। यस सडकमार्फत मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका सर्वसाधारण दैनिक आवतजावत गर्ने गरेका छन्। साथै बागलुङको केही क्षेत्रका नागरिकले पनि यही सडक प्रयोग गर्ने भएकाले सडक अवरुद्ध हुँदा हजारौं यात्रु प्रत्यक्ष प्रभावित हुने गरेका छन्। स्थानीयवासीका अनुसार वर्षायाममा सामान्य वर्षा भए पनि फापरखेत क्षेत्रमा पहिरो खस्ने जोखिम रहने भएकाले सडक घण्टौंदेखि कतिपय अवस्थामा दिनौंसम्म बन्द हुने गरेको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी प्रभावित हुने, बिरामीलाई अस्पताल लैजान कठिनाइ हुनेलगायत समस्या बारम्बार दोहोरिने गरेका छन्।
स्थानीयले लामो समयदेखि यस पहिरोको स्थायी समाधानको माग गर्दै आएका छन्। पहिरो पन्छाएर मात्रै समस्या समाधान नहुने भन्दै जोखिमयुक्त क्षेत्रलाई नै छल्ने वैकल्पिक संरचना निर्माण गर्नुपर्ने उनीहरूको माग रहँदै आएको छ। प्रस्तावित बेलिब्रिज निर्माण भएपछि पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित रूपमा छलेर सवारी सञ्चालन गर्न सकिने विश्वास गरिएको छ। यसले वर्षायाममा हुने सडक अवरोध न्यूनीकरण हुनुका साथै पश्चिम म्याग्दी र बागलुङका नागरिकको दैनिक आवागमन सहज हुने अपेक्षा गरिएको छ।








