• ‘वसन्त’ मा दलितको दृष्टिकोणबाट कथा भन्ने इमानदार प्रयत्न छ– प्रकाश सपुतको, जसले विभेद र असमानताविरुद्ध सशक्त आवाज बुलन्द गरेका छन्, भावनाको डोरी समाएर फिल्मको बृहत्तर क्यानभासमा आगो ओकलेका छन् ।
    गायकरकलाकार प्रकाश सपुतको फिल्म ‘वसन्त’ लाई बहिष्कारको ट्याग लागेको छ । नेपाली संगीतका सुपरस्टार सपुतको फिल्मले अपेक्षित व्यापार गर्न नसकेको खबर सर्वत्र छ । ‘वसन्त’ को टाइटल थिमले भन्छ– वर्ण व्यवस्थाले सदीऔंदेखि न्याकिएको एउटा तप्काको कथा । के अहिलेको बहिष्कारको हावा पनि यही मर्मसहित मडारिएको त होइन रु बहस जारी छ ।
  • फिल्म घोषणासँगै प्रस्ट थियो– जातीय विभेदको फक्लेटोमा ‘वसन्त’–कथा उनिएको छ । फिल्मसँगै दलितको गर्तमा बसेर समाजको कथा भन्ने दलित लेखकरनिर्देशकमा सपुतले आफ्नो नाम दर्ज गरेका छन् । फिल्ममाथि थप भन्नुअघि बहिष्कारको उडान भरेका आम दर्शकमाझ विनम्रतापूर्वक दुई प्रश्न उठान गरौं ।

प्रश्न १ स् के अहिले पनि समाजमा जातमा आधारित विभेद उत्तिकै जब्बर छ र सपुतको कलात्मक प्रश्नलाई समाजले पचाउन सकिरहेको छैन रु

प्रश्न २ स् यदि विभेद हटिसकेको छ भनेर मान्नुहुन्छ भने पनि इतिहासको घटना प्रस्तुत गर्दा बहिष्कार गर्नुपर्ने के त्यस्तो आपत्ति आइलाग्यो रु किनकि इतिहास मेटाउन असम्भव छ र इतिहासको जगमा मात्रै वर्तमान सम्भव छ ।

यसको जवाफ कतै सुनाउनुपर्दैन, तपाईंकै अन्तस्करणमा प्रतिध्वनित भए पुग्छ । बरु मेरो सानो सुझाव छ– विभेदरहित समाजको परिकल्पना गर्नुहुन्छ र प्रगतिशील विचार राख्नुहुन्छ भने ‘वसन्त’ एक पटक हेर्नैपर्ने फिल्म हो, यद्यपि निजी विवेक प्रयोगमा तपाईं स्वतन्त्र हुनुहुन्छ । अब म भने २ घण्टा ४० मिनेटको ‘वसन्त’ मा डुबुल्की मार्छु ।

 

अन्तवार्ताहरूमा दोहोर्‍याइरहेजस्तो सपुतले ‘वसन्त’ मा दलितको दृष्टिकोणबाट कथा भन्ने साँच्चिकै इमानदार प्रयत्न गरेका छन् । विभेद र असमानताविरुद्ध सशक्त आवाज बुलन्द गरेका छन् । भावनाको डोरी समाएर फिल्मको बृहत्तर क्यानभासबाट सपुतले आगो ओकलेका छन् । यस्तो लाग्छ, उनले आफूभित्र निसास्सिएर बसेका पीडा, अपमान, बहिष्करण, घृणा, दलित हुनुको हीनताबोध र विभेदरहित समाजको परिकल्पनालाई व्यक्त गर्न फिल्मलाई माध्यम बनाएका छन् । ‘वसन्त’ सैद्धान्तिक धरातलभन्दा पनि सामाजिक यथार्थवादमा आधारित फिल्म हो । राजनीतिक भाषा प्रयोग गर्दा फिल्मभन्दा बढी आन्दोलन हो । एक कलात्मक विद्रोह हो ।

सपुतले बाहुन केटी र कामी केटो अनि कामी केटी र क्षेत्री केटोबीचको अन्तरजातीय प्रेमको लहरो समाएर समाजका अनेकन विभेदित–कुसंस्कारमाथि बज्र हानेका छन् । यी सबै घटनाको केन्द्रमा छ, साहित्य चेत बोकेको हठी विद्यार्थी– वसन्त विक । बलियो कथा र मुद्दा हुँदा हुँदै पनि आफ्नो समयका हरेक मसिना कथा टिप्ने धुनमा सपुत चिप्लिन पुगेका छन् । कथालाई मालाजसरी उन्दा–उन्दै पनि दृश्यभाषाले सिंगार्न नसक्दा उत्कृष्ट फिल्म बनाउने सम्भावनाबाट चुकेका छन् । लयमा कथा भन्दाभन्दै बजारका लागि मसला भर्ने रहरमा कहींकतै ‘जर्क’ सुनिएका छन् । ध्वनि र दृश्यसँग पिरती गाँसेर दर्शकलाई आफ्नो सिर्जनामा अझै बाँध्न सक्थे उनी, जहाँ आलोचनाको ठाउँ छाडिदिएका छन् ।

 

 

एउटा गाउँ, हेर्दा सुन्दर र रंगीन छ । ०६२ सालसम्म पेल्टिसेटको बिजुली र धुलाम्य मोटरबाटो पनि पुगिसकेको छ । गाउँ आफ्नै दुःख र खुसीहरूमा मस्त छ । नाङ्गो आँखाबाट अलि भित्र चियाउँदा सुषुप्त एउटा अमिलो रङ पनि छ गाउँमा– जात र विभेदको ।

गाउँका चञ्चले शान्ति शर्मा ९स्वस्तिमा० र गम्भीर वसन्त विक ९प्रकाश० किताबका पानामा चिठी लुकाएर मुटुबाट संवाद गर्छन् । मोबाइल र सामाजिक सञ्जालबिनाको त्यो दुनियाँमा प्रेम क्षेत्री र सपना विकले समाजको सीमा नाघेर प्रेमको डोरी बाट्छन् । यी दुई जोडीको अटुट प्रेममा समाजको विभेदित पर्खालले उत्पन्न गर्ने तरंग नै चलचित्रको केन्द्रबिन्दु हो ।

हिरो बन्ने सपना बोकेको प्रेम र लेखक बन्ने अनिश्चित भविष्य देखेको वसन्त लंगौटिया हुन् । प्रेम सम्पन्न छन् । सपनाको बुबा आरनमा फलाम पिटिरहेका हुन्छन् । वसन्तका अर्का हितैषी हुन्छन्, गरिब मगर समुदायमा जन्मिएका सत्य ९खबपु०, जसले बाबाको औषधि जोहो गर्न मजदुरी गर्छन तर, पढ्न किताब र कापी जुटाउन सक्दैनन् । यता वसन्तकी आमा वर्षौंअघि परिवारको जीविका टार्न भारत पसेर उतै बिलाएका लोग्नेको बाटो कुरिरहेकी हुन्छिन् । वसन्त र उनकी आमाका संवादले दर्शकका आँखा अनयास टिल्पिलाउँछन् । रजस्वला भएकी आमा देउताको डरले संघारमा बसेर छोरालाई भान्सामा अह्राइरहन्छिन् । ढाड दुखुन्जेल चिसोमा सुतेकी आमालाई सम्झाउँदा नलागेपछि दैलो लिप्दै गरेका वसन्त भन्छन्, ‘तपाईंको देउटालाई भेटेर आइसकें, केही हुँदैन, यस्तो कुरा तपाईंले बुझ्नुहुन्न, शान्तिले बुझ्छिन् ।’

बारीमा दाउरा टिप्दै गरेकी आमा कराउँछिन्, ‘घरिघरि त्यो बाउनीको नाम न ले है वसन्त, आफ्नो मुखभन्दा ठूलो गाँस अट्यो भने घाँटीमा अल्झिन्छ ।’

शान्ति वसन्तको प्रेममा लुछुप्पै हुन्छिन् । तर, वसन्त लामा–लामा साहित्यिक संवादबाट समाजको सीमाहरू सम्झाउँदै शान्तिसँग दूरी कायम गर्ने कसरतमा हुन्छन् । यिनै संवादमा मुखरित हुन्छन्– वसन्त विकका विभेद विरोधी चेतना । तर, त्यो दस कक्षामा पढ्ने वसन्तभित्र लुसुक्क निर्देशक छिरेर बोलिरहेजस्तो लाग्छ घरिघरि ।

वसन्तले पनि माया नगर्ने त कहाँ हो र रु तर, कसरी जुटाओस् त्यो हिम्मत । यहाँनेर दलितको पराजित र हीन मानसिकतालाई सपुतले निकै मिहिन ढंगबाट मुखरित गरेका छन् । वसन्तले प्रेमको आँधीलाई मानसिकतामा मात्रै सजाएर कति दिनसम्म थेग्न सक्थे रु जंगलले घेरिएको डाँडामा पुगेर उनीहरू खुला आकाश र फराकिला छितिज हेर्दै प्रेमिल संवाद गर्छन् । वसन्तभन्दा दरिलो गरी शान्तिले खुट्टा टेक्छिन्, ‘हाम्रो प्रेमबाट म समाजमा परिवर्तन ल्याउन चाहन्छु ।’

कहिले जंगलमा, कहिले स्कुलबाट फर्कने बाटोमा त कहिले झोलुङ्गे पुलमा शान्तिसँग वसन्तका द्वन्द्व र प्रेममिश्रित ओझिला लामा संवाद चलिरहन्छन् । वसन्तले धारामा पानी थाप्दा होस् वा स्कुलमा खेपेको विभेद, गैरदलितको घरमा अलग्गै ढोका बाहिर बसेर टीभी हेर्नुपर्दा होस् वा आफ्नै अन्धकार भविष्यबारे नै किन नहोस्– शान्तिसँग भएभरका पीर बिसाउँछन् । शान्ति कहिले घुर्क्याउँदै त कहिले जिस्क्याउँदै वसन्तमा ऊर्जा भरिरहन्छन् । फिल्म हेरुञ्जेल मलाई भने केही संवाद दृश्यभाषा र मेटाफोरबाट प्रस्तुत गरेको भए केही प्लटहरू बोझिलो बन्नबाट जोगिने थिए भन्ने लाागिरह्यो । फेरि दर्शकलाई भक्कानो छुटाउन देखापर्छ सपना र उनको भाइबीचको संवाद । भाइ निरन्तर प्रश्न गर्छ – दिदी तँ बे गरेर गइस भने आउँदैनस् रु तिमीहरू बे गर्न किन मिल्दैन रु जिज्ञासु बाल मस्तिकबाट अबोध बालकले कसरी जात सिक्दै जान्छ रु यो दृश्यबाट पनि बुझ्न सकिन्छ ।

दसैंको मौसम, मध्यरात, गाउँ छेवैको डाँडामा छन्– सपना र प्रेम । तल भीर छ, मैदानमा झिलिमिली बिजुली बत्तीको क्यानभास । गाउँमा भजन गुञ्जिरहेको छ । कालरात्रीमा कोट घरमा बोका छिनाउने तरखरमा छन् प्रेमका बाबा । यता डाँडामा प्रेम र सपना समाजको बन्धन सम्झिएर गहबाट विवशताको आँसु झारिरहेका छन् । सिन्दूरभन्दा पवित्र माटो ठान्छन् र प्रेम सपनालाई सिउरिदिन्छन् । सपनाको पेटमा प्रेमको नासो हुर्किरहेको हुन्छ । उनीहरू अप्रिय निर्णय लिन अभिशप्त हुन्छन् । समाजको निकै विद्रूप चित्रलाई निकै कारुणिक ढंगबाट फिल्ममा पस्कने प्रयास छ सपुतको ।

  • जब प्रहरीको तारोमा वसन्त विक पर्छ, उनकी आमा हत्कडी लगाएको छोरालाई मजेत्रो ओडाएर बिदाइ गर्छिन् । दोस्रो हाफमा कथाले तीव्रताका साथ गति लिन्छ । एकपछि अर्का घटनाक्रम देखा पर्छन् । घटनाक्रमसँगै छोटाछोटा भूमिकामा नाजिर हुसेन, प्रियंका कार्की, केकी अधिकारी, अनुप बराल, अर्पण थापा, दिलीप रायमाझी, करिश्मा मानन्धर, राजेश हमाल पनि सशक्त अभिनयसहित देखिन्छन् । यहींनेर सपुतले दलितको नाममा राजनीति गर्नेहरूलाई प्रहार गरेका छन्, एकात्मक प्रहरी प्रशासनमाथि प्रश्न तेर्स्याएका छन्, दलित गैरसरकारी संस्थाहरूमाथि पनि प्रश्न उठाएका छन् ।

फिल्ममा अर्को सशक्त अभिनयसहित देखा पर्छिन्– युद्धरत माओवादीकी कमरेड बिहानी ९अनु थापा० । वसन्तलाई भन्छिन् – हिँड्नुस् हामीसँग, अब परिवर्तनका लागि कलम र बन्दुक सँगै बोक्नुपर्ने हो । वसन्त आफ्नो स्पष्ट विचार राख्छन्– मलाई बन्दुकले गरेको परिवर्तन दिगो हुन्छ जस्तो लाग्दैन । आज हतियार देखाएर बसेको ठाउँमा तपाईंहरू उठेपछि सुनपानी छर्किएर चोख्याउँछन्, जब तपाईंहरू हतियार बिसाउनुहुन्छ– भोलि मन्दिरमा उनै पुजारी हुनेछन्, जो हिजो थिए । शासक उनै हुनेछन्, जो हिजो थिए।।।।

यहाँ पनि वसन्तभन्दा शान्ति क्रान्तिकारी भएर देखा पर्छिन् । उनको जातबाहेक पारिवारिक पृष्ठभूमिलाई फिल्मले प्रस्ट पार्दैन । तर, फिल्मको अन्त्यसम्म पुग्दा वसन्तभन्दा क्रान्तिकारी भएर शान्ति उभिन्छिन् । र, सपुतलाई सपना देख्न उत्प्ररित गर्दै मझधारमा बसेर फिल्मको अन्त्य गर्छन् ।

एक व्यावसायिक कलाकार सपुतले खै कहाँबाट हिम्मत जुटाए, बलियो गरी आफूलाई रित्याएर कथा भने । अरू नै कथा भनेर वाहीवाही पाउने स्पेस हुँदाहुँदै उनी गाली खान तयार भए । फिल्ममा हरेक पात्रको अभिनयमा त मिहिनेत गरे, प्रस्तुतीकरणमा भने ठाउँ ठाउँमा लड्खडाए । सपना र प्रेमको सम्बन्धलाई हतारमा टुंग्याए । वसन्त घरबाट विदेश हिँड्दा र शान्तिसँग भेट्ने समयावधिको टाइम–फ्रेमलाई अस्वाभाविक देखाए । सपनाका बाबा अझै बढी कथा भन्न योग्य थिए । खै किन निर्देशक अन्तिमसम्मै संवाद थप्नमै लोभिए । तर, समाजको चित्र भने निर्मम ढंगले देखाइदिए ।

०६२ सालमा बिजुली र बाटो पुगेजस्तै आज गाउँमा ल्यापटप र इन्टरनेट पुग्यो होला । पक्की भवन, एम्बुलेन्स र मोटरसाइकल पुगे होलान् । भारत, साउदी, कतार जाने जमात युरोप र अमेरिका ताक्न थाल्यो होला । देशमा धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्र आयो होला । तर, हाम्रो समाजको चेतनास्तर वसन्तले देखाएभन्दा धेरै पर भने अझै पुगिसकेको छैन ।