बेनी नगरपालिका–१ स्थित रत्नेचौरको एक सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना छोराछोरीलाई छिमेकी जिल्ला बागलुङका विभिन्न निजी विद्यालयहरूमा अध्ययन गराइरहेका छन्। यद्यपि नेपाल सरकारद्वारा जारी नीतिअनुसार जनप्रतिनिधि, सरकारी शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था छ, तर उक्त नीतिको कार्यान्वयनको पक्ष भने कमजोर देखिएको छ।
राज्यले प्रत्येक वर्ष सामुदायिक विद्यालयको सुधारका लागि ठूलो लगानी गर्दै आएको छ। धेरै विद्यालयमा भौतिक पूर्वाधारमा उल्लेख्य सुधार देखिए तापनि विद्यार्थीको संख्या भने वर्षेनी घट्दै गएको छ। विद्यालय भवन सुन्दर तर कक्षाकोठा रित्तो देखिनु विडम्बनापूर्ण यथार्थ बनिसकेको छ।
विशेषगरी भानु माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरूकै सन्तान निजी विद्यालयमा पढिरहेका छन्। यस्तै, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूका छोराछोरी पनि निजी विद्यालयमा अध्ययनरत छन्। जस समुदायले शिक्षाको गुणस्तर सुधार्ने अपेक्षामा चयन गरेका थिए, त्यही व्यक्तिहरूले आफ्ना नानी–बाबुहरूलाई निजी विद्यालयमा पठाउनु सामुदायिक विद्यालयमाथिको अविश्वासको द्योतक हो।
यसले समाजमा गम्भीर असर पारिरहेको छ। जब एक शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गराउँछन्, तब आर्थिक रूपमा कमजोर वर्गका अभिभावकहरू पनि सामाजिक दबाबका कारण निजी विद्यालय रोज्न बाध्य हुन्छन्। जसले गर्दा सामुदायिक विद्यालयमा अभिभावकहरूको आकर्षण दिनानुदिन घट्दै गएको छ।
सरकारी शिक्षकहरू आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउँदा त्यो उनीहरू आफैंले प्रदान गर्ने शिक्षामाथिको अविश्वासको संकेत हो। जब शिक्षकले आफ्नो विद्यालयको गुणस्तरप्रति भरोसा गर्न सक्दैनन् भने आम नागरिक कसरी गर्न सक्छन्? यसले सामुदायिक विद्यालयहरूको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।
यस्तो अवस्थामा सामुदायिक विद्यालयको सुधारको विषय केवल नारा वा नीति मात्र भएर रहनु हुँदैन। यसको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्नु आजको आवश्यकता हो। त्यसका लागि जनप्रतिनिधि, शिक्षक, सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समिति (एसएमसी) का अध्यक्ष तथा सदस्यहरूले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाउने परिपाटी सुरु गर्नुपर्छ। यसरी मात्र सामुदायिक विद्यालयको प्रतिमा सुधार गर्न सकिन्छ र शिक्षामा समान पहुँचको उद्देश्य सार्थक बन्छ।
समुदाय, अभिभावक, शिक्षक, विद्यालय प्रशासन र नीति निर्माताहरू सबैले यस विषयमा गम्भीर चिन्तन गर्न आवश्यक छ। सामुदायिक विद्यालयप्रति समाजको भरोसा कायम राख्न सबैले उदाहरणीय भूमिका निर्वाह गर्नु आजको अपरिहार्य आवश्यकता हो।

रत्नेचौरमा अध्यापन गराउने शिक्षकका छोराछोरी बाग्लुङ जिल्लाका नीजि विद्यालयमा








