बेनी, म्याग्दी | २०८२ असार ५
“सफा रहौं, वातावरण सफा राखौं” भन्ने नाराका साथ विश्व वातावरण दिवस २०८२ को अवसरमा म्याग्दीमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा तथा अर्जुन सरको कोरियन भाषा सेन्टर म्याग्दीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा बेनी नगरपालिका–०७ स्थित विरेन्द्र चोकबाट सुरु भई बजार क्षेत्र, प्रदेश अस्पताल म्याग्दी बेनीको परिसर हुँदै खुल्लामञ्च क्षेत्रसम्म सरसफाई गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरू, कोरियन भाषा सेन्टरका प्रतिनिधि, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सरसफा नगर निर्माणमा समुदायको सक्रियता आवश्यक रहेको सन्देश दिएको छ। सरसफाई अभियानले बेनी बजार क्षेत्रलाई अझ आकर्षक र स्वस्थ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुखले यस्ता अभियानले प्रहरी र समुदायबीचको सम्बन्ध बलियो बनाउने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।








