प्राकृतिक उपचारका लागि परिचित म्याग्दीको तातोपानी कुण्डको संरक्षण, सरसफाइ र प्रवर्द्धनमा राष्ट्रिय सेवा दल (एनसीसी) का क्याडेटहरू जुटेका छन्। राष्ट्रिय सेवा दलअन्तर्गत माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय, बेनीका क्याडेटहरूले आइतबार तातोपानी कुण्ड परिसरमा सामुदायिक सेवा कार्यक्रम सञ्चालन गर्दै अभियानको सुरुवात गरेका हुन्।

नेपाली सेनाको गुरु गोरख गुल्म, अर्थुङ्गेको समन्वयमा जिल्लाका विद्यालयमध्ये माउण्ट एभरेष्ट आवासीय माविलाई छनोट गरी असार १ गतेदेखि एनसीसीको तीनमहिने जुनियर डिभिजन तालिम सुरु गरिएको हो। तालिमअन्तर्गत पाँच चरणमा विभिन्न सामुदायिक सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने गुरु गोरख गुल्मका प्रशिक्षक जमदार चन्द्रप्रसाद पौडेलले जानकारी दिए।

कार्यक्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रूपमा परिचित रहेको उल्लेख गर्दै यसको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न व्यक्ति, संघसंस्था र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताए।

विद्यार्थीहरूले समुदायसँग प्रत्यक्ष सहकार्य गर्दा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त हुने उल्लेख गर्दै उनले तातोपानी कुण्डमा सामुदायिक सेवा कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गरे। सो अवसरमा विद्यालयले कुण्ड व्यवस्थापन समितिलाई पाँच थान डस्टबिन हस्तान्तरण गरेको थियो।

नेपाली सेनाका अनुसार तालिमको उद्देश्य विद्यार्थीहरूको शारीरिक तथा मानसिक क्षमता विकास गर्नुका साथै अनुशासित, जिम्मेवार र देशप्रति समर्पित नागरिक तयार गर्नु हो। जुनियर डिभिजनतर्फको तालिममा कक्षा ८ देखि १० सम्म अध्ययनरत ३० जना छात्रछात्रा सहभागी छन्।

गुल्मपतिले ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्शलाई व्यवहारमा उतार्दै युवा विद्यार्थीमा नेतृत्व क्षमता, चरित्र निर्माण, खेलकुद भावना र निःस्वार्थ सेवाको संस्कार विकास गर्न तालिम प्रभावकारी हुने बताए।

१०० दिनको तालिममध्ये ७९ दिन विद्यालयमै नियमित प्रशिक्षण सञ्चालन हुनेछ भने बाँकी २१ दिन नवलपरासीस्थित नेपाली सेनाको ब्यारेकमा आवासीय प्रशिक्षण दिइनेछ। सम्पूर्ण तालिम सफलतापूर्वक पूरा गर्ने क्याडेटलाई योग्यताअनुसार दर्ज्यानी चिह्न प्रदान गरिनेछ।

तालिमका क्रममा शारीरिक व्यायाम (पीटी), ड्रिल, एरोबिक्स, एसएलआर हतियार सञ्चालन तथा मर्मतसम्भार, पर्खाल चढ्ने अभ्यास, घोडचढी, पौडी, वक्तृत्वकला, स्यान्ड मोडेल ब्रिफिङ र सांस्कृतिक गतिविधिलगायतका विषयमा प्रशिक्षण प्रदान गरिने नेपाली सेनाले जनाएको छ।